काठमाडाैं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले केपी ओली नेपालको राजनीतिको सेलिब्रेटी भएको बताएका छन् । सञ्चारकर्मीसँग आइतबार कुरा गर्दै रिमालले कसैले माने पनि नमाने पनि ओली नेपालको राजनीतिक सेलिब्रेटी भएको बताए ।
‘केपी ओली एक्लै त्यतिकै उभिँदा नै मान्छे ओइरिन्छन्, उहाँमा त्यस किसिमको क्रेज छ, त्यसमा कसैले डाहा गरेर रिस गरेर भएन’, रिमालले भने । केपी ओली असाध्यै लोकप्रिय र सबैले मन पराउने नेता भएको रिमालले दाबी गरे। केपी ओलीको विचार, व्यवहार र कुरा सबैले मन पराउने उनको भनाइ छ।
त्यो क्रम एमालेको मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिको लागि संकल्प यात्रामा पनि देखिएको उजले बताए। ‘साना केटाकेटीदेखि पाका मानिसहरूसम्म केपी ओलीलाई हेर्न भनेर आए नि, छुन भनेर आए नि’, उनले भने ।
धादिङमा बाटो बिराएर पार्टी अध्यक्ष ओलीको टोली अर्कै बाटो लाग्दा बाटोमा कुरेकाहरूले अरूलाई त्यो माला नलगाएर उनलाई नै लगाउने भनि घरै लिएर फर्किएको घटना रिमालले सुनाए । ‘यसलाई मानिसहरूले स्विकार्नुको विकल्प छैन, जसले मन पराउँदैन त्यसले पनि केपी ओलीसँग फोटो खिच्न चाहन्छ, जसले मन पराउँछ ऊ त हुरुक्कै हुन्छ, केपी ओली त्यही नै हो’, रिमालले भने ।
रिमालले केपी ओली बाको ब्राण्ड नै बनिसकेको पनि बताए । ‘नभन्नुस् भनेर के गर्नुहुन्छ तपाईंले ? जसरी कम्युनिष्ट कार्यकर्ताले आफ्नो साथीलाई कमरेड भन्छन्, ठिक त्यसैगरी हाम्रो अध्यक्षलाई सबैले बा भन्छन्, कसैले डाहा गरेर भयो र ? उहाँको निकनेम नै केपी बा भयो, बा भनेको फादर भनेको होइन, बा भनेको उहाँको पद नै बन्यो, माया गरेको, सम्मान गरेको उच्चतम् पद हो, बा भनेर केपी ओलीलाई जनताले सम्मान दिने गरेका छन्, अरूले त्यसमा ईष्या गर्नुपर्ने, कुरा काट्नु पर्ने, देख्दिनँ’, उनले भने ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google