
काठमाडाैँ । प्रतिनिधिसभाले बजेट पारित गर्नका लागि असार १४ गतेसम्मका लागि क्यालेन्डर तयार गरेको छ । बजेट पारित गर्नेगरी यसअघि तयार भएको क्यालेन्डर संसद् अवरुद्ध भएर प्रभावित भएपछि संसद् सचिवालयले नयाँ क्यालेन्डर बनाएको हो ।
जसअनुसार असार १० गते प्रतिनिधिसभाबाट बजेटको मूल विधेयक (विनियोजन विधेयक) पारित गर्ने नयाँ तालिकामा उल्लेख छ ।
आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक लगायत बजेटका अन्य विधेयक असार १४ गते पारित गर्ने प्रस्तावित कार्यतालिकामा उल्लेख छ । विधेयक पारित गर्नुअघि संसद्मा छलफल र मन्त्रीहरूले जवाफ दिने कार्यक्रम तय गरिएको छ ।
बजेटसँग सम्बन्धित विनियोजन विधेयकमाथिको छलफलका लागि शनिबार समेत संसद्को बैठक राख्नेगरी नयाँ तालिका बनेको हो । साउन १ गतेदेखि कार्यान्वयनमा आउने बजेट सरकारले जेठ १५ गते संसद्मा पेस गरेको थियो ।
संसद्को नयाँ कार्यतालिकामा असार ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तरको कार्यक्रम राखिएको छ । प्रधानमन्त्रीले महिनामा एकदिन संसद्मा सांसदका प्रश्नको जवाफ दिने प्रचलन छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google