काठमाडौँ । संसदको हिउँदे अधिवेशनको दोस्रो बैठक आज बस्दै छ। प्रतिनिधि सभा बैठक आज दिउँसो १ बजे बस्न लागेको संघीय संसद् सचिवालयले जनाएको छ । सचिवालयका अनुसार आजको बैठकमा हालै सरकारले जारी गरेको अध्यादेशहरू निर्णयार्थ प्रस्तुत हुने छ । आजको बैठकमा अर्थ समितिका सभापति सन्तोष चालिसेले ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ र ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन’ पेस गर्ने छन् ।
साथै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गर्ने छन् ।
संसद सचिवालयका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन, २०७९/८० पेश गर्ने’ कार्यसूची रहेको छ । यस्तै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक वर्ष २०८१/८२ को बजेट तथा कार्यक्रम कार्यान्वयन अवस्थाको अर्ध वार्षिक मूल्याङ्कन प्रतिवेदन’ पेस गर्ने छन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google