काठमाडौं । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले दलितमाथि विभेद गर्नेलाई कारबाहीको प्रक्रिया अघि बढाएर जानकारी गराउन सरकारलाई निर्देशन दिएकी छन् ।
सोमबार राष्ट्रियसभाको बैठकको सुरुमै दलितमाथि हुने विभेद बढ्दै गएको भन्दै सांसदहरुले उठेर विरोध जनाएपछि बैठकको अध्यक्षता गरेकी राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दलितमाथि विभेद गर्नेलाई छानबिन गरी कारबाही प्रक्रिया बढाउन सरकारलाई निर्देशन दिएकी हुन् ।
त्यसअघि, बैठकमा राष्ट्रियसभा सदस्य राधेश्याम पासवानले सिराहाको भगवानपुरमा सामूहिक भोजमा दलितमाथि भएको विभेदका विषयमा पटकपटक कुरा राख्दा पनि दोषीलाई कारबाही हुन नसकेको भन्दै आपत्ति जनाए ।
त्यस्तै, दाङको तुलसीपुरमा दलित विद्यार्थीको जात थाहा पाएपछि घरभेटीले घर निकाला गरेको, सप्तरीमा अन्तरजातीय विवाह गर्दा मुद्दा चलाएकोलगायतका घटनाले दलितमाथि अपमान भएको भन्दै उनले उक्त घटनामा पनि दोषीलाई कारबाही हुन नसकेको गुनासो गरे ।
दोषीलाई कारबाही नगर्ने र कानुनलाई पालना नगराउने प्रहरी र सीडीओलाई नै कारबाही गर्नुपर्ने उनको माग छ । यस विषयमा सांसदहरुले उठेर विरोध जनाएपछि राष्ट्रियसभा उपाध्यक्ष अर्यालले जवाफ दिन सरकारलाई रुलिङ समेत गरिन् ।