काठमाडौं । नेकपा (एमाले)बाट प्रतिनिधित्व गरेका मन्त्रीहरूले पदबाट राजीनामा दिएका छन् । सोमबार उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष सामूहिक राजीनामापत्र बुझाएका हुन् । पार्टीको सोमबारै बसेको सचिवालय बैठकले मन्त्रीहरू फिर्ता बोलाउने र सरकारलाई दिएको समर्थन समेत फिर्ता लिने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम उपप्रधानसहित आठ मन्त्रीले राजीनामा दिएका हुन् ।
नेकपा एमालेका तर्फबाट उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कृषि तथा पशुपक्षी मन्त्री ज्वालाकुमारी साह, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्र राई, परराष्ट्रमन्त्री डा बिमला राई पौड्याल, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पद्म गरी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी र रक्षामन्त्री हरिप्रसाद उप्रेती सहभागी थिए ।
यही फागुन १३ गते राष्ट्रपति पदका लागि उमेदवारको मनोनयनपत्र दर्ता गराउँदा नेकपा (माओवादी केन्द्र)सहित नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी)लगायत आठदलीय मोर्चा बनाइएको थियो । त्योसँगै सत्ता गठबन्धनभित्र किचलो बढेको थियो ।
एमालेले सरकार छोडेसँगै गएको पुस १० गते पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउने क्रममा बनेको सातदलीय गठबन्धन पनि विघटन भएको छ । गएको शनिबार अर्को सत्तासाझेदार दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकार छोडेको थियो ।