विमानस्थलमा अनावश्यक हैरानी दिने प्रवृत्ति तत्काल सुधार्न गृहमन्त्रीकाे निर्देशन

दर्पण दैनिक १३ चैत्र २०८०,१५:२३
post

काठमाडौं । उपप्रधान एवं गृह मन्त्री रवि लामिछानेले रेमिट्यान्स पठाएर देशको अर्थतन्त्रमा योगदान दिने श्रमिकलाई विमानस्थलमा अभद्र व्यवहार नगर्न तथा अनावश्यक दुःख, कष्ट र हैरानी दिने प्रवृत्ति तत्काल सुधार्न अध्यागमनका कर्मचारीलाई आग्रह गरेका छन् । सहानुभूतिसहित सकारात्मक व्यवहार गरी आजैबाट सेवाग्राहीलाई परिवर्तनको अनुभूति गराउन आग्रह गरेका गृह मन्त्री लामिछानेले उनीहरू जाँदा–आउँदा मर्यादित व्यवहार गर्न भनेका हुन् ।

मङ्गलवार(आज) अध्यागमन विभागको ब्रिफिङ लिन गृह सचिवसहित कालिकास्थान पुगेका गृह मन्त्री लामिछानेले विदेशीका लागि अध्यागमन देशको मुहार भएकोले मुहार नराम्रो हुँदा देशप्रति नै नकारात्मक धारणा बन्ने बताएका छन् । आफू निर्देशन होइन सहकार्यमा विश्वास गर्ने बताएका गृह मन्त्री लामिछानेले अध्यागमन सुधारका योजना ल्याउन भन्दै विभागको योजनामा मन्त्रालयले सक्दो सहयोग गर्नेसमेत बताएका छन् ।


केही खराब मान्छेका कारण धेरै इमानदारले दोष पाउने गरेको भन्दै उनले खराबलाई बेलैमा चिनेर इमानदारलाई प्रोत्साहित गर्नुपर्ने समेत बताएका छन् । गृह मन्त्री लामिछानेले अध्यागमनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रविधिमैत्री बनाउनु पर्ने बताएका छन् । जनशक्तिलाई पर्याप्त तालिम र कार्यस्थललाई स्रोत–साधन सम्पन्न बनाउन केही चुनौती भए पनि प्रयास जारी राख्नुपर्ने उनको भनाई छ ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: