काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सत्तासमीकरणमा फेरबदल ल्याउने उद्देश्यसहित निवर्तमान गृहमन्त्री रवि लामिछानेमाथि नागरिकता प्रकरणमा मुद्दा हालिएको जिकिर गरेका छन् । सत्तासमीकरणमा फेरबदल ल्याउन सकिन्छ कि भनेर लामिछानेमाथि उक्त मुद्दा हालिएको पोखरेलको भनाइ छ । आइतबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले लामिछानेको नागरिकता प्रकरणले सत्तासमीकरणमा फेरबदल नहुने स्पष्ट पारे । राजनीतिक ‘मिसन’ अदालती प्रक्रियाले उत्पन्न गरेको प्रश्नका कारण नबिथोलिने भन्दै उनले समस्याको समाधान गरिने बताए ।
'सामान्यतया अभ्यासमा के हुने गर्छ भन्ने कुरालाई उहाँले आम अभ्यासलाई रवि लामिछानेले प्रयोगमा ल्याउनुभयो । आम अभ्यासमा जे भइराखेको छ, त्यही अभ्यासमा उहाँ हिँड्न खोज्नुभयो । तर, अदालतले चाहिँ भाषालाई समात्यो । मुद्दा परिसकेपछि अदालतले भाषालाई समाउने कुराचाहिँ स्वाभाविक पनि होला । तर, नेपालका सन्दर्भमा भन्ने हो भने थुप्रै व्यक्तिहरू पीआर लिएर विदेशमा बसेकाहरू फर्केर आउँदाखेरि स्वतः नेपाली नागरिक भएका छन् । कसैले प्रश्न उठाएको छ र ? पीआर लिएका व्यक्तिहरूले पीआर परित्याग गरेको घोषणा गरेर त्यसपछि फेरि नयाँ प्रक्रियाबाट नागरिकता प्राप्त गरेको सुन्नुभएको छ ?,' उनले भने, 'तर, रवि लामिछानेको हकमा यसलाई विषय बनाइयो । किन बनाइयो भन्दाखेरि कतै यो विषयलाई अगाडि बढाएर सत्तासमीकरणमा फेरबदल ल्याउन सकिन्छ कि भन्ने अर्थमा यसलाई मुद्दा बनाइयो । तर, यसले उनीहरूले सोचेजस्तो काम गर्दैन । किनकि, राजनीतिक मिसन भनेको अदालती प्रक्रियाले उत्पन्न गरेका प्रश्नका कारणले बिथोलिने होइन । राजनीति भनेको त्योभन्दा माथिको चिज हो । त्यस अर्थमा हामी यसलाई राजनीतिक ढंगले ट्याकल गर्छौँ । समाधान गर्छौँ भन्ने कुरा नै मुख्य कुरा हो भन्ने मलाई लाग्छ ।'
महासचिव पोखरेलले लामिछानेको नागरिकता प्रकरणमा सर्वोच्च अदालतले देखाएको सक्रियता चामत्कारिक रहेको टिप्पणी गरे । कतिपय मुद्दाहरूको फटाफट निर्णय हुने गरेको भन्दै उनले यसको यथोचित जवाफ अदालतले दिनुपर्ने बताए ।