काठमाडां । नेकपा एमालेको लुम्बिनी प्रदेश अध्यक्ष पदमा पाल्पाका राधाकृष्ण कँडेल विजयी भएका छन् । बुधबार बिहान ५ बजे सम्पन्न मतगणनामा उनले प्यूठानका हरि रिजाललाई २ मतले हराउँदै विजयी भएका हुन् । अध्यक्षमा विजयी भएका कँडेल एमाले उपाध्यक्ष विष्णु पौडेल र पराजित रिजाल महासचिव शंकर पोखरेल निकट हुन् ।
निर्वाचन प्रमुख हरिप्रसाद भण्डारीका अनसार कँडेलले ४ सय ७९ मत ल्याएर विजयी भएका हुन् । त्यस्तै रिजालले ४ सय ७७ मत ल्याएका छन् । मंगलबार दिउँसो भएको निर्वाचनमा प्रदेशका १ हजार ५ प्रतिनिधि मध्यै ९ सय ६५ जनाले मतदान गरेका थिए ।
उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ निर्वाचित भएका छन् । उनले ४५५ मत ल्याए । श्रेष्ठका प्रतिस्पर्धी विश्वराज बरालले ३०६ मत ल्याए । उपसचिव पुरुषमा ४२८ मत ल्याएर रोल्पाका पूर्ण बुढा मगर विजयी भएका छन् । उनका प्रतिस्पर्धी बाँकेका दुर्गाप्रसाद थारु चौधरीले ३९३ मत ल्याए । बुढामगर भने अध्यक्षमा पराजित रिजाल प्यानलका हुन् ।
उपचसिव महिलामा बर्दियाकी लिला राना मगर ३५२ मत ल्याएर विजयी भएकी छन्। उनका प्रतिस्पर्धी बाँकेकी बस्नती अधिकारीले ३५१ र बाँकेकै आरती पौडेलले २२१ मत ल्याइन् । सचिवमा भने लक्ष्मण आचार्य निर्विरोध निर्वाचित भइसकेका छन् । सचिवसहित भूगोलतर्फ १२मध्ये ८ जिल्लाका सदस्य निर्विरोध निर्वाचित भएका हुन्। भूगोलतर्फ बाँके, दाङ, गुल्मी र रुपन्देही गरी ४ जिल्ला, लेखा कमिटी र प्रदेश खुलातर्फ मतदान भएको थियो ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google