काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले अहिले नेपाली जनताको इतिहासमाथि हमला भइरहेको बताएका छन् ।
माओवादी धारका पार्टीहरुको संयुक्त पत्रकार सम्मेलनलाई आइतवार सम्बोधन गर्दै उनले नेपाली जनताले ल्याएको उपलब्धि खोस्ने प्रयास भइरहेको पनि बताए ।
'नेपाली जनताको इतिहास तोडमोड गर्ने प्रयास हुँदैछ । नेपाली जनता इतिहास रक्षा गर्न तयार छन्', प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्धको मुद्दालाई लिएर उनले भने, 'इतिहास यहाँसम्म आइपुग्दा सिंहको शिकारमा ब्वाँसा र स्यालले रजाइँ गरे । अहिले श्रमिक जनता र नेता कार्यकर्तालाई अपराधी बनाउने खेल हुँदैछ ।'
उनले नेपालमा जनता उठेको मन नपराउने सामन्तहरु अझै हावी भइरहेको बताए । 'नेपालमा जनता उठेको मन नपराउने तत्वहरु छन् अहिले', उनले भने, 'हामीले क्रान्ति गर्दा गर्दै साम्राज्यवादीहरुले खोसेर हैकम चलाए ।'
उनले प्रचण्डतिर लक्षित गर्दै माओवादीले जति भने पनि अहिले नेपाल राज्य जनताको भइनसकेको पनि बताए । 'माओवादीले जति नै हाम्रो राज्य भने पनि यो त होइन रहेछ। प्रधानमन्त्रीलाई समेत राज्यले नियन्त्रणमा राख्न खोजिरहेको छ', उनले भने, 'हाम्रो देशलाई २०४७ सालमा फर्काउने काम हुँदैछ। क्रान्तिको अपूर्णताको कारण हो यो । यो राज्य नेपाली जनताको भइसकेको छैन। तर हामीले बनाउँदा बनाउँदै साम्राज्यवादीहरुले खोसे ।'
उनले अहिले पनि नेपाली किसानहरु सडकमा फ्याकिएर आत्महत्या गर्न बाध्य भएको बताउँदै आफूहरु अपूरो क्रान्तिलाई पूर्णता दिने दिशातिर लागेको उल्लेख गरे ।