काठमाडाैं । जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठले नेकपा एमाले भ्रष्टाचारको छानबिन होला कि भनेर डराएको आरोप लगाएका छन् । काठमाण्डौ जिल्ला समन्वय समितिले शनिबार आयोजना गरेको चियापान तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन् ।
नेकपा एमालेले पशुपतिनाथको जलहरीबारे प्रश्न उठेपछि संसद अबरुद्ध गरेको विषयप्रति लक्षीत गर्दै श्रेष्ठले नेकपा एमालेको भ्रष्टाचारप्रतिको दृष्टिकोण उदाङ्गिएको बताए । यदि नेकपा एमाले भ्रष्टाचारविरुद्ध उभिने हो भने यसको जाँच गर्न तयार हुनपथ्र्यो । प्रमाण भेटियो भने सजाय भोग्न तयार छौँ भन्नुको साटो जाँच गर्लाकि भनेर संसद अबरुद्ध गर्ने, बोलिएका कुरालाई रेकर्डबाट हटाउन लगाउने काम गरेको श्रेष्ठले बताए ।
उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी करिब ३ दर्जन नेता कार्यकर्ता जसपा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई कार्यक्रमका प्रमुख अतिथि समेत रहेका श्रेष्ठले खादा र अबिर लगाएर पार्टी प्रवेश गराएका हुन् ।
कार्यक्रममा पार्टीका राजनीतिक समिति सदस्यहरु लालबहादुर तामाङ, बोम दर्लामी मगर, पार्टीका राजनीतिक समिति सदस्य एवम् प्रचार विभाग प्रमुख पूर्ण बस्नेत, केन्द्रीय सदस्य एवम् समाजवादी ट्रेड युनियन महासंघका अध्यक्ष अर्जुन लम्साल, केन्द्रीय अनुशासन आयोगका सदस्य विनोद श्रेष्ठ, नेवा: राष्ट्रिय समितिका अध्यक्ष श्यामकृष्ण प्रजापति लगायतको उपस्थिति रहेको थियो ।