काठमाडाैं । महाधिवेशन सुनिश्चित गर्न माग गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)का असन्तुष्ट समूहका नेताहरुले कांग्रेस केन्द्रीय कार्यालय सानेपामा अनशन सुरु गरेका छन् ।
उनीहरूले नेविसंघ सभापतिले म्याद सकिएपछि जारी गरेका चिठी खारेज हुनुपर्ने, म्याद सकिइसकेको सभापतिलाई हटाएर नयाँ पदाधिकारीसहितको विधानसम्मत कमिटी ल्याउनुपर्ने, १२औँ महाधिवेशन सुनिश्चित गरिनुपर्नेलगायत माग राखेका छन् ।
नेविसंघ बृहत् संघर्ष समिति बनाएर अनिश्चितकालीन रिले अनशन थालिएको हो । अनशनको पहिलो दिन शनिबार निश्चल महर्जन र अनशुल केसी अनशनमा बसेका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवालेतीन महिनाभित्र नेविसंघको महाधिवेशन गर्ने जिम्मेवारीसहित दुजाङ शेर्पालाई नेविसंघको तदर्थ समितिको सभापति बनाएका थिए । कांग्रेस पार्टीको आन्तरिक किचलोका कारण एक वर्ष नाघिसक्दा पनि उनी नेतृत्वको समिति विस्तार हुन सकेको छैन ।