रास्वपा सदस्यकालागि याे एक वर्ष तीन प्रकारकाे सम्मिश्रण रह्यो

प्रतिभा रावल ८ असार २०८०,११:५०
post

प्रतिभा रावल । गत एक वर्षमा राष्ट्रिय स्वतन्त्र पार्टीले नेपाली जनताको अपार माया मात्र पाएको छैन, यो मुलुकको एउटा उदीयमान राजनीतिक शक्तिको रूपमा स्थापित भइसकेको छ । संक्षिप्तमा भन्दा यो एक वर्ष सम्पूर्ण रास्वपा सदस्यहरूका लागि तीन प्रकारका अनुभव/कथाहरूको सम्मिश्रण रह्यो:

सपना र सम्भावनाका कथा (Stories of Hope & Possibilities)

देशको प्रमुख राजनीतिक शक्ति बनी जनताको अवस्था परिवर्तन गर्नेतर्फ, एक वर्षमै हामी मुलुकको चौथो ठूलो राजनीतिक शक्ति बनेका छौँ । मुलुकभर सातै प्रदेश, ७७ जिल्लामा संगठन तीव्र रूपमा फैलिरहेको छ । सपना देख्ने र आ-आफ्नो क्षेत्रमा अब्बल र सफल युवाहरू हामीसँग जोडिँदै हुनुहुन्छ । छोटो अवधिमा हामीले हासिल गरेको सफलताले हामीलाई थुप्रै सम्भावना र सपना देखाएको छ । यसर्थमा यो एक वर्ष सपना र सम्भावनाको वर्ष रह्यो ।

उत्साह र प्रेरणाका कथा (Stories of Excitement & Inspiration)

संसद्‌मा रास्वपाको उपस्थितिले उत्साह मात्रै हैन, युवाहरूलाई प्रेरणा पनि दिएको छ । देश विकास र नीति निर्माणका सम्बन्धमा रास्वपाले संसद्‌मा नवीन र जोडदार उपस्थिति जनाइरहेको छ । देश, विदेशमा रहनुहुने नेपालीहरू अहिले हामीसँग जोडिन चाहनु भएको छ । राजनीतिमा चासो नराख्नेहरू माझ पनि रास्वपाको उपस्थितिले एक किसिमको उत्साह सिर्जना गरेको छ । त्यसैले विगतको एक वर्ष हाम्रा लागि उत्साह र प्रेरणाको कथाहरूले भरिएको वर्ष बन्यो ।

संघर्ष र सीमाका कथा (Stories of Struggles & Limitations)

हामीले यो एक वर्षमा आम जनताको एउटा आशा र भरोसाको केन्द्रको रूपमा रहने राजनीतिक दल निर्माण गर्न अत्यन्त मेहनत मात्र होइन कडा संघर्ष पनि गर्नुपर्‍यो । पार्टी सभापति रवि लामिछानेले दुईपटक चुनाव लड्नु पर्‍यो । सभापति र पार्टीले  एकपछि अर्को मुद्दा खेप्नु पर्‍यो । समाजको एउटा तप्काले त सभापति र रास्वपालाई कसरी र के बहानामा खेद्न सकिन्छ भनेर अभियान नै चलाएजस्तो देखियो। हामी कतै पनि विचलित भएनौँ । संघर्ष गरिरह्यौँ र अगाडि बढिरह्यौँ।

हामी मुलुक निर्माणका सम्बन्धमा दौडिन चाहन्थ्यौँ र चाहन्छौँ । यो मुलुक धेरै नै पछाडि परिसकेको छ । तर पनि हाम्रो दौडलाई हाम्रो शक्ति र सामर्थ्यको सीमाले रोकिरहेको अनुभव हामीलाई केहीबेर सरकार र अहिले सदनमा पनि भइराखेको छ । कति कुरा हामीले चाहेर पनि गर्न सकेका छैनौँ। अंकगणितमा चल्ने हाम्रो संसद्‌मा हाम्रा सीमाहरू छन् । त्यो अर्थमा विगत एक वर्षमा हामीले हाम्रा यी र अन्य सीमितताका कथाहरू पनि सँगालेका छौँ । त्यो मानेमा गत एक वर्षको समय हाम्रा लागि संघर्ष र सीमाको कथा पनि हो ।

यी सबै कथाहरूबाट सिक्दै हामी अगाडि बढ्दैछौँ । जुन खालको संगठन र पार्टीपंक्ति बनिरहेको छ, त्यस आधारमा म ढुक्कका साथ भन्न सक्छु रास्वपा मुलुकले अहिलेसम्म नदेखेको राजनीतिक शक्तिको रूपमा उदाइरहेको छ । यस यात्रामा अहिलेसम्म सहभागी सबैलाई हार्दिक धन्यवाद दिँदै मुलुक परिवर्तन गर्ने यो महाअभियानमा हामीसँग हातेमालो गर्न सम्पूर्ण आम जनसमुदायमा विनम्र अनुरोध गर्दछु । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम स्थापना दिवसको पार्टीका सम्पूर्ण शुभचिन्तक र सदस्यहरूलाई हार्दिक शुभकामना !!

(प्रतिभा रावल रास्वपा केन्द्रीय सदस्य हुन् ।)

सम्बन्धित खबर

post

बोयर बाख्रा गरिबको धन

१५ माघ २०७९,१६:५४
post

उमेर, संगत अनि म

१० चैत्र २०७९,०७:३२
post

हिंसा रोकौँ, सभ्यता बोकौँ

२१ मंसिर २०८०,१९:३९

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: