सुमना श्रेष्ठ, प्रतिनिधि सभा सदस्य
गत माघ ११ गते वीगञ्जको घण्टाघरबाट नागरिकका आावाजसदनसम्म पुऱ्याउन नागरिकका कुरा सुन्न हिँडेकी थिएँ । एउटा जनप्रतिनिधिको रुपमा जनताको आवाज सुन्नु मेरो नियमित कर्तव्य हो । शिक्षा र प्रशासनमा दलगत राजनीतिको नकारात्मक प्रभाव, सार्वजनिक शिक्षाको गुणस्तर सुधारको यथार्थ र नागरिकका समस्याहरूलाई संसदमा प्रभावकारी रूपमा उठाउन यो यात्रा तय गरेकी थिएँ । शिक्षामा असमानता, मिटरब्याज, सहकारी पीडितलाई न्याय र सरकारका प्रशासनिक कमजोरीहरू जस्ता विषयमा जागरुकता ल्याउन र यी विषयको नागरिकमा भोगाइको गहिराई बुझ्नु मेरो उद्देश्य थियो । आज माघ १६ गते छैठोँ दिन शहिद दिवसको गौरवपूर्ण क्षणमा शहिद गेटमा यात्रा समापन गर्दैगर्दा देशले भोगिरहेको समस्याहरु समाधान गर्न थप प्रेरणा र उर्जा मिलेको छ । सबैलाई धन्यवाद व्यक्त गर्दै म यो ६ दिने यात्राका अनुभव र प्रारम्भिक निश्कर्ष म निम्न ६ बुँदामा अभिव्यक्त गर्न चाहन्छु ।
१. समाजमा चरम दलीय राजनीतिकरणले नागरिकमा निराशा बढेको छ, आत्मविश्वास घटेको छ ।
शिक्षा, स्वास्थ्य, प्रशासनलगायत क्षेत्रमा दलगत राजनीतिको हस्तक्षेपले गहिरो रूपमा जरा गाडेको छ। स्कुल, अस्पताल र मन्दिरसम्म राजनीति पुगेको छ, जसले सुशासनलाई कमजोर बनाएको छ र अन्ततः देशलाई नै कमजोर बनाइरहेको छ । नागरिकहरू गलत कार्यविरुद्ध आवाज उठाउन पनि दलीय राजनीतिको दबदबाले राज्यले प्रतिशोध साध्ने हो कि भनेर त्रसित देखिन्छन्।
२. शिक्षाका समस्या गम्भीर छन् । शिक्षामा व्यापक सुधारको लागि कदम चाल्न ढिला भैसक्यो ।
स्रोत वितरणमा असमानता, दलगत हस्तक्षेप, र शिक्षण पेशाप्रतिको विश्वास र सम्मानको अभाव देखियो। सार्वजनिक विद्यालयहरूमा विश्वास घटेको, तर समुदायले चासो दिएको ठाउँमा सकारात्मक परिणाम पनि देखियो।
३. आर्थिक र सामाजिक असमानता व्याप्त देखियो
नागरिकतासम्बन्धी सिफारिस शुल्कदेखि स्वास्थ्य सेवासम्म असमानता व्याप्त छ । विपन्न वर्ग वित्तीय शोषणको चपेटाले थला परेको छ। यसले नागरिकमा आक्रोश बढाएको छ ।
४. जनप्रतिनिधि र नागरिकबीच दूरी बढ्नुले चिन्ता थपिएको छ
जनप्रतिनिधिहरू जनताको वास्तविक समस्या भन्दा पार्टीको स्वार्थमा बढी केन्द्रित भएको अनुभव सुनियो। चुनाव जितेपछि आफ्ना कार्यकर्ता केन्द्रित हुने प्रवृत्तिले नागरिकहरूलाई उपेक्षित महशुस गराएको छ ।
५. स्वास्थ्य र मानसिक स्वास्थ्यसम्बन्धी गम्भीर समस्या देखियो
स्वास्थ्य सेवाको पहुँच र गुणस्तर सन्तोषजनक छैन। स्वास्थ्य क्षेत्रमै पनि दलगत हस्तक्षेप भएको छ । विद्यार्थीहरूमा मानसिक स्वास्थ्यसम्बन्धी समस्याबारे राज्य गम्भीर हुनुपर्ने देखिन्छ ।
६. नयाँ पुस्तामा परिवर्तनको हुटहुटीमा छ
नागरिक आक्रोशित भए पनि समाधानको खोजीमा छन् । नेतृत्वबाट जवाफदेहिताको खोजिमा छन्। परिवर्तनको वेग बढ्दो छ ।
अन्त्यमा, यो यात्रामा प्रत्यक्ष वा परोक्ष रूपमा साथ दिने सबैलाई हार्दिक आभार व्यक्त गर्दछु। नागरिक समाज, विद्यार्थी, अभिभावक, युवा, सञ्चारकर्मी, र स्थानीय सहयोगीहरूप्रति विशेष धन्यवाद । यात्रामासँगै हिँड्ने, संवाद गर्ने, र सहकार्य गर्ने सबै मित्रहरूप्रति हार्दिक कृतज्ञता । नैतिक समर्थन, मार्गदर्शन, र प्रेरणाका स्रोत बनेका सबैलाई मनैदेखि धन्यवाद छ । यो यात्राले मलाई नागरिकहरूसँग अझ मजबुत रूपमा जोड्ने अवसर दियो। संसद र सार्वजनिक बहसमा यी अनुभवहरू प्रस्तुत गरिरहनेछु । भविष्यमा उपयुक्त समयमा अर्को भेगमा फेरि अर्को यात्रामा तपाईँका कुरा सुन्न आउनेछु ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google