- दीपक बोहरा
प्रिय साथीहरू,
आज म यहाँ तपाईंहरूसँग खुलेर कुरा गर्न चाहन्छु । म, जसले सधैं सत्यको पक्षमा उभिएर काम गरें, म माथि अहिले आएर भ्रामक सूचना फैलाएर मिडियाले मेरो चरित्र हत्या गर्न खोजिरहेको छ। यो पोस्ट लेख्नु मेरो लागि सजिलो छैन, तर सत्यलाई उजागर गर्नु मेरो जिम्मेवारी हो ।
तथाकथित इमेलको वास्तविकता:
केही दिनअघि जीबी राईको नाममा एक इमेल मिडिया हाउसहरुको इमेलमा पठाइयो, जसमा मलाई दोषारोपण गरिएको छ। तर यो पूर्णरूपमा प्रमाणविहीन छ। यो इमेलको वास्तविकता कहिल्यै पुष्टि गरिएको थिएन । कसैको नाम राखेर मनलाग्दी कुरा लेखेर सित्तैमा खोल्न मिल्ने इमेल मिडियालाई पठायो भने त्यसलाई पुष्टि नगरी छाप्दै जान मिल्ने हो ? पक्कै पनि मिल्दैन । तर त्यसैलाई आधार बनाएर केही मिडियाले बिना कुनै अनुसन्धान, बिना कुनै तथ्य, मेरो, हाम्रो सभापति र मेरा साथीहरूको नाम बदनाम गर्न खोजिरहेका छन् । के पत्रकारिताको नैतिक जिम्मेवारी यस्तै हुनुपर्ने हो ? के पत्रकारहरूले प्रमाण र पुष्टि बिना यस्ता संवेदनशील विषयमा समाचार लेख्न र सार्वजनिक गर्न मिल्छ ?
के कसैले त्यो इमेलमा तपाईँ जीबी राई नै हो भनेर थप जानकारी र पुष्ट्याइँ खोजे ? कसरी खोज्थे ? इमेल अकाउन्ट नै फर्जी हो। स्क्रिनसट हेर्नुस् ।
जीबी राईलाई मैले पहिलो पटक टिभी सञ्चालन हुन लागेको दिन भेटेको हुँ । तर मेरो भनाई के हो कसैले सोधे ? किन सोध्नु पर्थ्यो र, प्रोपोगान्डालाई पत्रकारिता बनाएपछि पत्रकारिताका सिद्धान्त त कसले पो याद गर्छ र ।
बिना पुष्टि समाचारले के गर्छ ?
हामी सबैलाई थाहा छ कि पत्रकारिता हाम्रो समाजको चौथो अंग हो। तर जब यो चौथो अंग नै भ्रामक र असत्य सूचना फैलाउन लाग्छ, तब त्यो समाजमा क्षति पुर्याउँछ । जनआस्थाले यस इमेललाई आधार बनाएर समाचार र भिडियो बनायो, तर यो समाचार न त पुष्टि गरिएको थियो, न त यसमा कुनै तथ्यको आधार थियो। यस्तो बिना प्रमाणका समाचारहरूले कसरी मान्छेको जीवन बर्बाद पार्न सक्छ, त्यो हामीले विगतमा पनि देखिसकेका छौं- श्रीषा कार्की प्रकरण हामीले भुलेका छैनौँ । तर आज फेरि पनि उही कुरा दोहोरिइरहेको छ ।
संवेदनशील समाचार प्रकाशनको जिम्मेवारी:
पत्रकारिताले सधैं सत्यको पक्षमा उभिनुपर्छ । तथ्य खोजेर, अनुसन्धान गरेर मात्र समाचार प्रकाशन गर्नु नै सही पत्रकारिता हो। तर यहाँ हामीले देख्यौं—एउटा इमेल, जसको स्रोत र सत्यता नै शंकास्पद छ, त्यसलाई लिएर राष्ट्रिय स्तरमा चर्चा गरिएको छ । यो केवल पत्रकारिताको लापरबाही मात्र होइन, यो एउटा सामाजिक अपराध हो। यस्तो समाचारले व्यक्तिगत प्रतिष्ठा, परिवार, र समाजमा गम्भीर असर पुर्याउन सक्छ ।
किन यस्तो प्रपोगान्डा बनाइयो ?
इमेलको नाममा गरिएको यो षड्यन्त्र मात्र एउटा व्यक्तिगत आक्रमण होइन, यो ठूलो राजनीतिक खेल हो । यसले रवि लामिछानेजस्ता भ्रष्टाचारको विरोध र सत्यको पक्षमा उभिने व्यक्तिलाई कमजोर बनाउन खोजिरहेको छ। उहाँको विरुद्धमा यो प्रपोगान्डा र अफवाह फैलाएर हाम्रो पक्षलाई कमजोर बनाउने प्रयास भइरहेको छ । राजनीतिक प्रतिशोधका कारण पत्रकारितालाई यसरी हतियारको रूपमा प्रयोग गर्नु नै पीत पत्रकारिता हो ।
पत्रकारिता र समाजको जिम्मेवारी:
तपाईंहरू सबैसँग मेरो एउटा प्रश्न छ—हामी कस्तो समाजमा बाँच्न चाहन्छौं? के यस्तो समाज, जहाँ बिना प्रमाण र सत्यता कुनै पनि कुरा सार्वजनिक गरिन्छ ? के हामी त्यस्ता पत्रकारितालाई समर्थन गर्छौं जसले केवल झुट र अफवाह फैलाउँछ ? म तपाईंहरू सबैलाई आग्रह गर्न चाहन्छु—हामीले सही पत्रकारिता, सत्यको खोजी, र न्यायको पक्षमा उभिनु जरुरी छ। पीत पत्रकारिता रोक्न, र बिना पुष्टि समाचारहरूको विरोध गर्न, हामी सबै एक भएर अगाडि बढौँ । सत्यको लागि हामी सधैं लड्नेछौं ।
(रास्वपाका सह–कोषाध्यक्ष दीपक बोहराकाे फेसबुकबाट)
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google