गोपि ढकाल
राष्ट्रवादको आवरणमा जलकुम्भि झैं मौलाएका र अझ मौलाउन खोज्ने धमिरावाद भित्रका जुके राष्ट्रवाद, च्यांखे राष्ट्रवाद, ढोके राष्ट्रवाद र पोके राष्ट्रवाद भनेको के हो ? यसको आकार–प्रकार र रङ्ग कस्तो हुन्छ ? यसै बारेमा लेख्दैछु आजको संक्षिप्तलेखमा ।
जुके राष्ट्रवाद
जुका भनेको सधैँ परजीवी हो, त्यसैकारण उसले अरूको रगत चुसेर बाच्नु पर्दछ । मान्छे होस वा वनमान्छे, स्याल होस वा कुकुर, बाँदर होस या हुँडार, गधा वा मलसाप्रो नै किन नहोस सामुन्नेमा जे भेट्यो टपक्क टासिएर तृप्त हुने चरित्रलाई जुके राष्ट्रवाद भनिन्छ ।
च्यांखे राष्ट्रवाद
जुके राष्ट्रवाद भन्दा हजारौं गुणा खतरनाक हो च्यांखे राष्ट्रवाद किनकि जुकाले सामुन्नेमा भेट्यो भने मात्र टपक्क टांसिएर पेटभर्ने काम गर्छ । किन्तु च्यांखेले भने अनेकन प्रपन्चको जालमा , शकुनि राष्ट्रवादी जुवाको खालमा, जनावर भेट्दा स्तन देखाउने अनि पंक्षी देख्दा पखेटा फिजाउने चमेराको तालमा, राष्ट्रवादको पंख देखाएर च्यांखे थाप्ने अनि आफ्नो मक्सद पूरा गर्ने जन्मजात चरित्रलाई च्यांखे राष्ट्रवाद भनिन्छ ।
ढोके राष्ट्रवाद
एकाबिहानै ढोका ढोका चाहार्दै, ख्वामित हजुरको जय होस भन्दै र व्यक्ति पूजामा लिन हुँदै प्राप्तिका लागि मरिहत्ते हुनु भनेको ढोके राष्ट्रवाद हो । त्यस्तो विचारधारा वादका मान्छेहरू ख्वामितको मलद्वार लाई मुक्ति , भुक्ति र इच्छा पूर्तिका लागि हरिद्वार हो भन्दै अगरबत्ती जलाएर प्राय दैनिक पूजा र आरधना गर्दै कामरूपी देव र विलासितारूपी देवी बाट वरदान प्राप्त गर्ने प्रयत्नमा हुन्छन ।
पोके राष्ट्रवाद
कालीमाटी पुगेर माछा किन्ने अनि मोदी खोलाको असला माछा ख्वामित भन्दै कोसेली चढाउने । एकाथरी पोखरीको माछा बोकेर आउछन अनि सप्तकोशी भारदहको जलकपुर ख्वामित भन्दै उपहार चढाउछन । दोश्रोथरी घुमन्तेसंग नक्कली मह किनेर जुम्लाको घारको अर्गानिक मह हो प्रभु भन्दै कामरूपी देव र विलासितारूपी देवीको मन्दिरमा अर्पण गर्छन ।
कसैले किबिको समयमा कोही किबि फल मन्दिरमा ओसार्छन । मुढेको अर्गानिक आलु भन्दै बोरामा तरकारी खसाल्छन र हरिणको सुकुटी ख्वामित भन्दै डाले मृग अर्थात लंगुर (ढेडु) को सुकुटी पुर्याएर त्यस्तो मन्दिर भित्रका कामरूपी देव र विलासितारूपी देवीलाई प्रसन्न गराउछन ।
यो त भयो नाम लिन हुने पूजाको सामाग्री किन्तु फलाहारको नाम लिनै नहुने उपहार पनि भाडामा लगेर कतिले ख्वामित भन्दै नजराना चढाएर कामरूपी देव प्रभुलाई तृप्त गराउछन । त्यसरी भाङ पेलेर होस या धतुरो पेलेर भएपनि प्राप्तिको अथक प्रयासमा लाग्ने चरित्रलाई पोके राष्ट्रवाद भनिन्छ ।
धनलाई मन्दिरको पुजारी बनाउदै विराजमान रहेका कामरूपी देव र विलासितारूपी देवीका लागि त्यो भन्दा ठूलो राष्ट्रवाद अरू कुनै हुन सक्छ ? आफ्नो चित्त प्रसन्नताका लागि जेसुकै गर्न पनि तयार जुके , च्यांखे , ढोके र पोके राष्ट्रवाद बाहेक आर्थिक रूपमा छ्याङ निचोरेर निकालिएको कोदोको छोक्रा जस्तै जीवन दैनिकी जर्जर बन्दा पनि विचारका लागि ओखलमा टाउको राखेर मुसलसँग नडराउने स्वाभिमानी चरित्रलाई त्यस्ता कामरूपी देव र विलासितारूपी देवीले कसरी मान्छन राष्ट्रवाद ?
त्यसैकारण पढाइ जुनसुकै विश्वविद्यालय बाट भएपनि त्यस्ता देव र देवीका अगाडि , जुके, च्यांखे , ढोके र पोके राष्ट्रवादी चरित्र सहित चाकडी विश्वविद्यालयको सर्टिफिकेट देखाउन नसके अरू कुनै ज्ञान , इमान , साधना र सीपको केही चल्दैन ।
यसरी उपहार र भेटी सहितको चाकडी र चाप्लुसीमा रमाउने कामरूपी देव र विलासितारूपी देवीहरू राष्ट्रवादको विषाक्त पण्डा बनेकै कारण नेपाली राष्ट्रवाद कमजोर बनेको हो । जबसम्म यस्ता धमिरावाद हरूलाई निरूत्साहित गराउन सकिन्न तबसम्म तिनै जुके, च्यांखे , ढोके र पोके राष्ट्रवादी हरूले नै राजसंस्था पुनर्स्थापना गर्लान अनि सनातन हिन्दू राष्ट्र फर्काउलान भन्ने आत्मरतिमा रमाउने हो भने त्यस्तो आत्मरति एकादेशको भन्दै उहीले हामीले बच्चामा पढेको राजकुमार दिक्पालको दन्त्यकथामा मात्र सीमित हुनेछ ।
अन्तमा यथार्थ धरातलीय विश्लेषण यदि गलत गरेको भए विद्धान हरूबाट कडा प्रतिक्रिया पाउँ ।
(ढकाल राप्रपा केन्द्रीय सचिवालय सदस्य हुन् ।)
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google