भवानी बजगाईँ । राजनीति भन्नाले एक देश वा क्षेत्रको शासनसँग सम्बन्धित गतिविधि हो भन्ने कुरा त हामीलाई थाहा नै छ । राजनीति विशेष गरेर, समूह वा देशको बारेमा व्यवस्थापन गर्न गरिने वा निर्णय लिने काम गर्दछ । यसले व्यक्ति वा समूह बीच शक्ति सम्बन्धको काम गर्छ । अर्को अर्थमा, विशेष उदेश्य प्राप्तिको लागि देशको दिगो परिवर्तन निम्ति गरिने निर्णयलाई राजनीति भनिन्छ। कुनै सम्प्रदाय,गाउँ र सहर जस्ता प्रशासनिक क्षेत्र भएको समूहहरूले शासन व्यवस्थाका सन्दर्भमा राजनीति मार्फत सहमति कायम गर्दछन् । ठूला समुहहरूको देश भएका व्यवस्थामा दलीय प्रणालीमा आधारित पार्टीहरु हुन्छन् । यस्ता पार्टीका सदस्यहरुलाई नेता भनिन्छ। त्यस्ता नेताहरू र पार्टी मिलेर सरकार बन्दछ। विश्वविद्यालयमा पढाई हुने राजनीतिक विषयलाई राजनीतिशास्त्र, राजनीतिक अध्ययन वा सामान्य प्रशासन भनिन्छ ।
देशको स्रोत साधन, अधिकार, व्यवस्थापन र वितरणसँग राजनीति सम्बन्धित छ । यसले देशका नागरिकहरूको हक, हित र अधिकारको संरक्षणका लागि काम गर्छ। यस्तो गहन विषयमा पनि महिलाको सहभागिताचाहिँ कमै भएको पाइन्छ । यसको मूलकारण भनेको पितृसत्तात्मक सोच, सामाजिक-सांस्कृतिक अवरोधहरू, राजनीतिक संगठनका लागि तालिम, स्रोतसाधनको अभाव र आर्थिक चुनौति नै हो।
राजनीतिमा महिलाको कम सहभागिताले ठूलो असर पर्न जान्छ । महिला वा पुरूषको जीवनको सामाजिक, आर्थिक, साँस्कृतिक परिवर्तनका लागि राजनीतिक निर्णयले ठूलो भूमिका खेल्छ। हालका दिनमा स्थानीय-तह देखि विश्व स्तरसम्म महिला नेतृत्व र राजनीतिक सहभागितालाई बढावा दिएको छ । चाहेँ त्यो सरकारीक्षेत्र होस या निजि जस्तै, निर्वाचित कार्यालय, निजामती, जङ्गी वा प्रहरी सेवा, निजी क्षेत्र र अन्य क्षेत्र ।
लोकतान्त्रिक शासन प्रणालीमा महिला र पुरूषको समान सहभागिताले मुलुकलाई असल शासनको नाम दिन्छ। लैंगिक सहभागिताको सवालमा पनि महिला र पुरूषको समान सहभागिता हुनु मुलुकको लागि राम्रो कुरा हो । राजनीतिमा महिला सहभागिता बढाउँन नेपालमा सबै निकाय र स्तरमा महिलाको कम्तिमा पनि ३३% सहभागिता अनिवार्य गरेको छ । यति गर्दा पनि कतिपय ठाउँमा आवश्यक्ता अनुसार पुराउन सकिरएको छैन । सामाजिक समर्थन , राजनीतिक दलको समर्थनको कमी, परम्परागत विचार, आत्मविश्वासको कमी, आर्थिक क्षमतामा कमी, क्षमता अनुसारको अवसरमा कमी, लैंगिक विभेद र पहुँचको कमीले गर्दा राजनीतिमा महिलाको सहभागिता हुनुपर्ने जति छैन ।
राजनीतिमा महिला सहभागिता सुनिश्चित भयो भने विभेदकारी कानुन अन्त्य , समतामूलक र न्यायपूर्ण समाज निर्माण हुन्छ । हाल नेपालमा भएको स्थानीय निर्वाचनमा मेयर वा उपमेयरमध्ये एक महिला हुनुपर्ने र स्थानीय वडामा अनिवार्य महिला सदस्य हुनुपर्ने बनाइएको छ । यसले गर्दा स्थानीय निकाय र राजनीतिमा महिलाहरूको सहभागिता उल्लेखनीय रहेको छ ।
महिला स्वयंको सहभागितामा आफनो हक, हित, अधिकारका बारेमा आवाज वुलन्द गराउन सक्छन् । 'जसको सवाल उसैको सहभागिता' भन्ने कुराको सुनिश्चितता हुन्छ।हाम्रो जस्तो पुरूष प्रधान मुलुकमा राजनीतिमा महिला सहभागिता बढ्यो भने पुरूषले गर्ने निर्णयमा महिलाले स्वीकार्न अनिर्वाय हुन्न । नीति ,नियम र कानुन बनाउने ठाउँमा महिलाको समान पहुँच रहन्छ । उनिहरूले निर्णय पनि गर्न सक्छन् । जसले गर्दा देश र समाज लैंगिक मैत्री र समतामूलक बन्न सक्छ।अनि मात्र सभ्य अनि समतामूलक समाजका कल्पना गर्न सकिन्छ ।
संयुक्त राष्ट्रसंघका पूर्व महासचिव कोफी अन्नानले भनेका छन्, 'महिला सशक्तिकरण भन्दा प्रभावकारी विकासको लागि कुनै उपकरण छैन। महिला सशक्तिकरणभन्दा अन्य कुनै नीतिले आर्थिक बृद्धि दर बढाउने वा बाल र मातृ मृत्युदर घटाउने सम्भावना छैन ।
यो बाहेक अन्य नीतिले एच आइ भी एडस को रोकथाम सहित मानवको पोषण सुधार र स्वास्थ्यको बढावा दिन सक्दैन। यो पुस्ता मात्र हैन, अर्को पुस्ताका लागि शिक्षाको संभावना बढाउनको लागि अरू कुनै नीति शक्तिशाली छैन जुन महिला सशक्तिकरणले गर्छ र महिला सशक्तिकरणका लागि राजनीतिमा महिला सहभागिता अनिवार्यता छ ।'
राजनीतिमा मात्र हैन हरेक तहमा जसको सहभागिता रहन्छ, त्यहाँ सशक्तिकरण हुन्छ र निर्णय लिन सक्षम बनाउँछ। महिला र पुरूष भनेका रथका दुइ पाङ्ग्रा हुन् भन्ने भनाइअनुसार जुनसुकै ठाँउमा पनि पुरूष र महिलाको समान सहभागिता हुन जरूरी छ। झन् राजनीतिक रूपमा त अपरिहार्य नै छ ।
राजनीतिमा महिलाको सहभागिताले नै देशको स्रोत, साधनको समान वितरणका लागि सही कानुन नियम बनाउँछ । त्यसमा महिलाको सहभागिताले निष्पक्ष र महिलामैत्री कानुन निर्माणका लागि सहयोग पुग्छ । यस्तो परिपाटीले दिगो विकासलाई समेत टेवा पुर्याउँछ।जसका कारणले समाज लाई सभ्य र समतामूलक बनाएर समृद्ध समाजको परिकल्पना गर्न सकिन्छ। त्यसैले राजनीतिमा महिला सहभागिता वढाउन जरूरी छ ।
( बजगाईँ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ( अनेरास्ववियु) की स्थायी कमिटि सदस्य हुन् ।)
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google