सम्झनामा २०६१ सालमा नेपालमै पहिलाे पटक मनाइएको १६६औँ विश्व फोटोग्राफी दिवस

योगेन्द्रजंग बस्नेत २ भाद्र २०८२,२१:२६
post

योगेन्द्रजंग बस्नेत

फोटोग्राफीको महत्व तथा यसको सांस्कृतिक र ऐतिहासिक मूल्यलाई पनि जनसमक्ष ल्याउन २०६१ सालको भदौमा नेपाली फोटोग्राफीको इतिहासमा एउटा महत्वपूर्ण दिनको शुरुआत भएको थियो । नेपालमा पहिलो पटक १६६औँ विश्व फोटोग्राफी दिवसलाई भव्य र ऐतिहासिक ढंगले मनाएका थियौँ ।  नेपाल कला परिषद्को सहयोगमा भएको  कार्यक्रमको संयोजक (म)  योगेन्द्रजंग बस्नेत थिएँ ।

कार्यक्रमको मुख्य उद्देश्य न केवल फोटोग्राफीका पुराना र नयाँ पुस्तालाई एकसाथ ल्याउनु थियो, बल्कि फोटोग्राफीको महत्व र यसको सांस्कृतिक र ऐतिहासिक मूल्यलाई पनि जनसमक्ष ल्याउनु थियो । उक्त कार्यक्रममा देशभरिका १२ जना प्रमुख फोटोग्राफर्सलाई सम्मानित गर्दै, फोटोग्राफीको कला र महत्वलाई प्रमुखता दिएका थियौँ ।

कार्यक्रमको विशेषता : पुराना र नयाँ पुस्तासँगको मिलन

नेपालका प्रतिष्ठित फोटोग्राफरहरूको उपस्थितिले यस कार्यक्रमलाई अझै विशेष बनाएको थियो । कार्यक्रमका प्रमुख सहभागीहरूमा जगदीश तिवारी, राजभाइ सुवाल, राजिक श्रेष्ठ, आर के मानन्धर, प्रदीप शाक्य, मिन बज्राचार्य लगायतका नामचीन फोटोग्राफरहरू रहेका थिए । उनीहरूले नेपालका विभिन्न इतिहासिक स्थानहरूको फोटोग्राफी गरेर, कला र सांस्कृतिक धरोहरलाई प्रकट गरे ।


फोटोग्राफी प्रदर्शनी : ‘पुस्तादेखि पुस्तासम्म’

कार्यक्रमको अन्तर्गत एक ऐतिहासिक फोटोग्राफी प्रदर्शनी पनि आयोजना गरिएको थियो जसमा ४४ जना फोटोग्राफरहरूले १५१ वटा फोटो प्रस्तुत गरेका थिए । प्रदर्शनीको मुख्य विषय ूपुस्ता देखि पुस्ता सम्मू राखिएको थियो, जसमा पुराना ऐतिहासिक फोटोहरूदेखि डिजिटल क्यामेराबाट खिचिएका आधुनिक फोटोहरूसम्मको समावेश थियो ।

यस प्रदर्शनीमा १०० वर्ष पुराना फोटोग्राफ्स र समसामयिक तस्विरहरूको मिश्रणले नेपाली फोटोग्राफीको विकास र परिवर्तनलाई स्पष्ट रूपमा देखाउन मद्दत पुर्याएको थियो । ७५ वर्षीय बखतबहादुर चित्रकारदेखि ८ वर्षीया सुमिन बज्राचार्यसम्मका विभिन्न उमेरका फोटोग्राफरहरूको सहभागिता यस कार्यक्रमको एक अविस्मरणीय पक्ष बन्यो ।

समारोहको उद्देश्य र प्रभाव

यो कार्यक्रम केवल एउटा फोटोग्राफी दिवसको मात्र कार्यक्रम थिएन, यसले नेपाली फोटोग्राफरहरूको गौरवपूर्ण इतिहासलाई पुनःस्मरण गराएको थियो । कार्यक्रमको प्रमुख उद्देश्य भनेको युवा फोटोग्राफरहरूलाई पुराना पुस्तासँग परिचित गराउनु र फोटोग्राफीको कला र शास्त्रलाई सम्मानित गर्नु थियो । साथै, अग्रज फोटोग्राफरहरूको योगदानलाई मान्यता दिने र नयाँ पुस्तालाई प्रेरित गर्ने प्रयास पनि गरिएको थियो ।

बखत बहादुर चित्रकारले सोही दिन भन्नुभएको थियो, ‘सिमित साधन र स्रोतहरू भएका बेला हामीले गरेका मेहनेतले अबको पुस्तालाई मार्गदर्शन र प्रेरणा दिनेछ।’ 

यस कार्यक्रमको समापनसँगै, नेपालमा फोटोग्राफीको इतिहासलाई एक नयाँ दृष्टिकोण र सम्मान प्राप्त भएको थियो । १६६औं विश्व फोटोग्राफी दिवस नेपाली फोटोग्राफरहरूको लागि मात्र एक उत्सव होइन, बल्कि एक महान सांस्कृतिक र ऐतिहासिक यात्रा थियो, जसले भविष्यका फोटोग्राफरहरूलाई प्रेरित गरिरहेको छ ।


(बस्नेत वरिष्ठ फोटोग्राफर हुन् ।)

सम्बन्धित खबर

post

बोयर बाख्रा गरिबको धन

१५ माघ २०७९,१६:५४
post

उमेर, संगत अनि म

१० चैत्र २०७९,०७:३२
post

हिंसा रोकौँ, सभ्यता बोकौँ

२१ मंसिर २०८०,१९:३९

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: