त्रिविको नयाँ नेतृत्वले देखाएको : त्रिविको रुपान्तरण सम्भव छ

सुमना श्रेष्ठ २८ श्रावण २०८१,१९:४५
post

सुमना श्रेष्ठ

त्रिविद्वारा तीन महिनामै ३ लाख ९२ हजार विद्यार्थीको नतिजा प्रकाशन भएको खबरले मलाई मात्र हैन हरेक विद्यार्थीलाई राहत पुगेको हुनुपर्छ । त्रिविको मुख्य समस्य समयमा परीक्षा र नतिजा प्रकाशन नहुने थियो। उत्तरपुस्तिका काठमाण्डौ नै ल्याउन पर्ने बाध्यताबाट मुक्त बनाउने उपकुलपतिज्यू लगायत प्राज्ञिक नेतृत्वको कार्ययोजना छ । यति मात्र गर्न सके पनि समयमा भर्ना खुल्छ, समयमा परिक्षा हुन्छ र समयमा नतिजा निस्किन्छ । यसका लागि वहाँहरुले गरेको गृहकार्यले परिणाम दिन थालेको पनि हामीले देख्न र अनुभव गर्न थालेका छौँ । त्रिविको पदाधिकारी टिमलाई धन्यवाद र थप सफलताको लागि शुभकामना पनि व्यक्त गर्दछु । 


यो सबै सम्भव हुनुका पछाडिको मैले देखेको मूल कारण: उपयुक्तता र योग्यताका आधारमा निष्पक्ष र कुनै राजनैतिक दबाब बिना छनोट भएको नेतृत्व हो। वर्षौँदेखि दलीय राजनीतिको आखडा बनेको नियुक्ति प्रक्रियालाई रुपान्तरण गर्न मापदण्ड बनाएर पारदर्शी र न्यायोचित ढंगमा गरेमा समेत यति सम्भव हुने रहेछ । अब कल्पना गर्नुहोस् त - हरेक डिन, क्याम्पस प्रमुख यसै गरी नियुक्त हुने हो भने नेपालको शिक्षा क्षेत्र कसो नसुध्रिएला त? यदी सबैले विद्यार्थीको भविष्य र देशको शैक्षिक गुणस्तर उकास्ने उद्देश्य राखेर निर्णय लिने प्रतिबद्धता गर्ने हो भने आजै देखि शिक्षालयलाई राजनीतिक दलको भर्ति केन्द्र, परिचालन केन्द्र र रोजगार केन्द्र नबनाऔँ । 


विश्वविद्यालयको नेतृत्व पूर्णतः प्राज्ञिक वर्गले गरोस् । प्राज्ञिक नेतृत्व स्वतन्त्र र जिम्मेवार होस्। राजनीतिक नेतृत्वले प्राज्ञिक नेतृत्वलाई स्रोत व्यवस्थापन र हौसला प्रदान गर्ने हदसम्म मात्र सकारात्मक योगदान गरोस् । 

अब छिट्टै नै क्याम्पस प्रमुख र डिनहरुको नियुक्ति प्रक्रिया सुरु हुँदैछ । यसमा पनि मापदण्ड बमोजिम नै नियुक्ति  हुनेछ भन्ने मेरो विश्वास छ । अहिलेको सरकारले समेत त्रिविमा दलीय राजनीतिको हस्तक्षेप गर्नुहुन्न र गर्न दिनु हुन्न भन्ने कुरालाई मनन गर्नुहुनेछ भन्ने विश्वास सारा नेपाली जनताले लिएका छन् । देशको शैक्षिक भविष्यलाई उकास्ने आफ्नो जिम्मेवारी कसरी निर्वाह गर्नुहुनेछ भन्ने बारे गहिरिएर नियाल्दै छौँ । 

शिक्षामा सुधार सम्भव छ। त्रिवि सुधार सम्भव छ।

(पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठकाे फेसबुकबाट ।)

सम्बन्धित खबर

post

बोयर बाख्रा गरिबको धन

१५ माघ २०७९,१६:५४
post

उमेर, संगत अनि म

१० चैत्र २०७९,०७:३२
post

हिंसा रोकौँ, सभ्यता बोकौँ

२१ मंसिर २०८०,१९:३९

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: