बीएस्सी नर्सिङ र बीएमएसको पाठ्यक्रम एउटै भएको शिक्षा मन्त्रालयको निष्कर्ष (निर्णयसहित)

दर्पण दैनिक ११ चैत्र २०८०,१२:०९
post

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले त्रिभुवन विश्वविद्यालयअन्तर्गत ब्याचलर इन मिडवाइफ्री साइन्स (बीएमएस) र बीएस्सी मिडवाइफ्रीको पाठ्यक्रम एउटै भएको निष्कर्ष निकालेको छ । 
शिक्षामन्त्री सुमना श्रेष्ठसँग शुक्रबार चिकित्सा शिक्षा आयोग, नर्सिङ काउन्सिल, त्रिवि लगायतका पदाधिकारीबीच भएको छलफलले यस्तो निष्कर्ष निकालेको हो । त्रिविअन्तर्गत नर्सिङ क्याम्पस महाराजगञ्जमा अध्ययनरत बीएमएसका विद्यार्थीले पाठ्यक्रम जुधेको भन्दै आन्दोलन गरेका थिए । 

छलफलमा बीएस्सी मिडवाइफ्रीकै पाठ्यक्रम बीएमएसका लागि समेत लागु हुने र सो पाठ्यक्रम त्रिविबाट स्वीकृत भएको त्रिवि उपकुलपति डा. केशरजंग बरालले जानकारी दिएका थिए । साथै पाठ्यक्रमबारे सबै सरोकारवाला निकाय जानकार रहेको पनि छलफलमा बताइएको थियो । दुवै विषय अध्ययन गरेका विद्यार्थीलाई नर्सिङ परिषद्को परीक्षामा सहभागी हुन समस्या नहुने परिषद्ले जनाएको छ । 

यी दुई विषयमा उपाधि भने फरक–फरक हुने बैठकको ठहर छ । पाठ्यक्रमबारे अन्यौलता हटेपछि महाराजगञ्ज नर्सिङ क्याम्पसमा आन्दोलन स्थगित भइ पठनपाठन अघि बढाउन सूचित गरिएको छ । 


आज मिति २०८०।१२।०९ गतेका दिन माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीज्यूको संयोजकत्वमा देहायबमोजिमका पदाधिकारीको उपस्थितिमा बैठक बसी नर्सिङ शिक्षातर्फ Bachelors in Midwifery Science (BMS) तर्फका विद्यार्थीहरूले उठाएका विषयउपर छलफल गरी देहायबमोजिम निर्णय गरियो ।

उपस्थिति

१. माननीय मन्त्री सुमना श्रेष्ठ

२. प्रा. डा. अञ्जनीकुमार झा, अध्यक्ष, चिकित्सा शिक्षा अयोग

३. प्रा. डा. केशरजङ्ग बराल, उपकुलपति, त्रिभुवन विश्वविद्यालय

४. श्री सुरेश अधिकारी, सचिव, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय

५. डा. दिव्या सिंह शाह, डिन, चिकित्साशास्त्र अध्ययन संस्थान, त्रि.वि.

६. प्रा. श्री सरला केसी, अध्यक्ष, नेपाल नर्सिङ परिषद


छलफल एवं निर्णयहरू

१. त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गत नर्सिङ क्याम्पस महाराजगञ्जमा अध्ययनरत नर्सिङ शिक्षा तर्फ Bachelors in Midwifery Science (BMS) तर्फका विद्यार्थीहरूले BSC Midwifery र Bachelor in Midwifery Science (BMS) को पाठ्यक्रम एकै भएको र आफुहरूलाई फरक पाठ्यक्रममा नभई एकै पाठ्यक्रममा अध्यापन गराएको भनी उठाएको मामिलाको सम्बन्धमा छलफल हुँदा देहायको जानकारी प्राप्त भएको ।

क. नर्सिङ विषयमा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेका विद्यार्थीहरूलाई BMS अध्ययनको लागि चिकित्सा शिक्षा अयोगले सिफारिस गरेको विषयमा चिकित्सा शिक्षा आयोगका अध्यक्षबाट जानकारी भएको ।


ख. BSC Midwifery कै पाठ्यक्रम BMS को लागिसमेत लागु हुने र सो पाठ्यक्रम त्रिभुवन विश्वविद्यालयबाट अधिकारिक रूपमा स्वीकृत भएको सम्बन्धमा त्रिभुवन विश्वविद्यालयका उपकुलपतिबाट जानकारी भएको ।


ग. BSC Midwifery र Bachelor in Midwifery Science को पाठ्यक्रम एकै भई सोहीअनुसार पठनपाठन भएता पनि BMS तर्फका विद्यार्थीलाई BMs को उपाधि प्रदान गरिने त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थानका डिनबाट जानकारी भएको ।


घ. BMS अध्ययन गरी प्रमाणपत्र प्राप्त गरेका विद्यार्थीहरूले नर्सिङ परिषदको परीक्षामा सहभागी हुन समस्या नहुने व्यहोरा नहुने सम्बन्धमा नर्सिङ परिषदका अध्यक्षबाट जानकारी भएको ।

ङ. उपरोक्त विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सम्बद्ध विद्यार्थीहरूलाई जानकारी गराई पठनपाठन सुचारू गर्न समेत सूचित गर्ने ।

सम्बन्धित खबर

post

एसईईको नतिजा सार्वजनिक

२१ असार २०८०,१६:१३
post

कक्षा १२ को नतिजा प्रकाशित

३० श्रावण २०८०,१८:३८
post

शिक्षा विधेयक संसदमा पेस

१४ आश्विन २०८०,१७:१०
post

कक्षा १२ को परीक्षा आजदेखि

१४ बैशाख २०८१,०७:१२
post

२०८१ को एसईई चैत ७ देखि

१ माघ २०८१,०९:२३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: