काठमाडौँ । काठमाडौँ महानगरपालिकाकाे आयोजनामा ‘काठमाडौं शैक्षिक मेला २०८१’ सुरू भएकाे छ । मेला फागुन १६ गते आज सुरू भएर भाेलि १७ गतेसम्म प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृह परिसरमा सञ्चालन हुने छ ।
विद्यालयमा शैक्षिक नतिजा सुधार तथा शैक्षिक वातावरणका लागि थालिएका कार्यक्रमबाट विद्यार्थीमा परेको प्रभाव, यसबाट उनीहरूले सिकेका ज्ञान र सिपको प्रस्तुति तथा प्रदर्शनीका लागि मेला आयोजना गरिएको महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।
मेलामा विद्यार्थीले नवीनतम सिकाइ गतिविधि प्रदर्शन गर्नेछन् । बुक–फ्री फ्राइडेअन्तर्गतका ३५ वटा शैक्षिक उपसमूहका स्टलमार्फत रुचि र नतिजा प्रदर्शन हुने महानगरले जनाएको छ । मेलामा सामुदायिक विद्यालयले दिवा खाजाका रूपमा ३० रुपैयाँमा उपलब्ध गराउनेछ । यस्तै, नेपाल भाषाको सिकाइ विधि, मौलिक संस्कृति, भेषभूषा झल्काउने प्रदर्शनी, मौलिक बादन तथा गायन प्रस्तुति रहेको छ ।
यो तीन चरणमध्ये फेस्ट पहिलो चरणको कार्यक्रम हो । दोस्रो चरणमा चालु शैक्षिक सत्रको अन्तिम बुक–फ्री फ्राइडेका दिन (२३ फागुन २०८१) साझेदार र सरोकारवालाले आफू नजिकको सामुदायिक विद्यालयका कार्यक्रम अवलोकन गराउने योजना रहेको र तेस्रो चरणमा शैक्षिक क्रियाकलापका नविनतम आयामका विषयमा पृष्ठपोषण लिन गोलमेच अन्तर्क्रिया आयोजना गरिने महानगरले जनाएको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google