काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहमार्फत मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने कार्यविधिको मस्यौदा सार्वजनिक गरेको छ । मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यलाई सरल, सहज र नागरिकको पहुँचयोग्य बनाउन तथा मतदाता नामावलीमा थप शुद्धता कायम गर्न ‘स्थानीय तहमार्फत मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यविधि, २०८०’ को मसौदा तयार पारिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।
उनका अनुसार सरोकारवालाको सुझाव संकलन गर्न आयोगको वेबसाइटमार्फत मस्यौदा सार्वजनिक गरिएको छ । मस्यौदामा कुनै स्थानीय तहले आफ्नो केन्द्र वा वडास्तरबाट नाम दर्ता गर्न इच्छुक भई निर्वाचन कार्यालयमार्फत आयोगमा अनुरोध गरेमा स्थानीय तहको भौतिक स्रोतसाधन र जनशक्तिको अवस्था हेरी आयोगले अनुमति दिने व्यवस्था गरिएको छ । यसरी अनुमति प्राप्त गरेपछि सम्बन्धित स्थानीय तहको केन्द्र वा वडास्तरमै नाम दर्ता अधिकारी र दर्ता कर्मचारी तोकी मतदाता नामावली दर्ता कार्य सुरु हुने आयोगले जनाएको छ ।
कुनै व्यक्तिले मतदाता नामावलीमा नाम दर्ता गराउन चाहेमा अनलाइन प्रणालीमार्फत फारम भरी सम्बन्धित स्थानीय तहबाट जैविक (बायोमेट्रिक) विवरण दिन आफूलाई उपयुक्त हुने मिति प्रणालीबाट छनोट गर्न सक्ने सहायक प्रवक्ता अर्यालले जानकारी दिए । उनका अनुसार बायोमेट्रिक विवरण दिएपछि सम्बन्धित व्यक्तिको स्थायी ठेगानामा नाम दर्ता गरिने व्यवस्था कार्यविधिको मस्यौदामा रहेको छ । यसरी दर्ता भएका व्यक्तिको विवरण अन्तिम मतदाता नामावली प्रकाशन हुने समयमा आयोगमा प्राप्त गरी अद्यावधिकको प्रक्रियामा लैजाने व्यवस्था छ ।
मस्यौदामा रहेका उक्त व्यवस्थालगायतका अन्य विषय थप परिमार्जन वा सुधार गर्न सुझाव दिन चाहने विदेश वा स्वदेशमा रहेका नेपाली नागरिक, सम्बन्धित स्थानीय तह तथा अन्य सरोकारवालाले अगामी कात्तिक मसान्तभित्र आयोगको इमेल ठेगानामा राय सुझाव उपलब्ध गराइदिन आयोगले सबैलाई आग्रह पनि गरेको छ ।
नेपालको संविधानको धारा २४७ बमोजिम निर्वाचन आयोगलाई आफ्नो काम पूरा गर्न आवश्यक पर्ने कर्मचारी र अन्य सहयोग संघ, प्रदेश र स्थानीय सरकारले उपलब्ध गराउनेछ भन्ने व्यवस्था भएबमोजिम आयोगले मस्यौदा तयार गरेको छ । यसमा आवश्यक सहयोग र मतदातामा सेवा पुर्याउने कार्यमा स्थानीय तहबाट सबै सहयोग उपलब्ध हुने आयोगले अपेक्षा गरेको छ ।










































































































































































































































































.jpg)















































































































































.jpg)














































































































































































.jpg)





प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google