बझाङ । गाडी दुर्घटनामा निधन भएका सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह दम्पतीको अन्त्येष्टि आज गरिएको छ । गत मंगलबार धनगढीबाट बझाङ जाने क्रममा गाडी दुर्घटनामा परी मन्त्री सिंह, उनकी पत्नी अमृता र भाउजु जयाको मृत्यु भएको थियो । मन्त्रीपत्नी अमृता र भाउजु जयाको घटनास्थलमै र सिंहको नेपालगन्ज मेडिकल कलेजमा मृत्यु भएको हो ।
मृतक जया सिंहको अन्तिम संस्कार यसअघि महेन्द्रनगरमा गरिएको थियो । मन्त्री सिंह दम्पतीको भने उनका कान्छा छोरा आदेश सिंह अमेरिकामा रहेकाले उनी फर्किएपछि आज दाहसंस्कार गरिएको हो ।
उनीहरूको शव जिल्ला अस्पतालको शवगृहमा राखिएको थियो । शोक प्रकट गर्नका लागि सदरमुकाम चैनपुर बजार पूर्ण रुपमा बन्द गरिएको थियो । परराष्ट्रमन्त्री एनपी साउद, मुख्यमन्त्री कमलबहादुर शाह, बाजुराका सांसद बद्री पाण्डे पनि श्रद्धाञ्जली दिन बझाङ पुगेका थिए ।
उनको अन्तिम दाहसंस्कार सेती नदी किनारको डुङग्री आर्यघाटमा हिन्दु परम्परा अनुसार गरिएको हो । सिंह दम्पतीको शवमा उनका छोरा अभिषेकबहादुर सिंह र आदेशबहादुर सिंहले दागवत्ती दिए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google