२३ वर्षअघि माओवादी आक्रमणमा ध्वस्त अछाम दरबार २ करोड ४८ लाखमा फेरि ठडियो

दर्पण दैनिक २० फाल्गुन २०८१,०७:०८
post

अछाम । पुनर्निर्माण सुरु भएको १६ वर्षपछि अछाम दरबार निर्माण कार्य सकिएको छ । विसं २०५८ फागुन ४ गते तत्कालीन विद्रोही माओवादीको आक्रमणमा जिल्लास्थित सरकारी कार्यालय रहेको दरबार ध्वस्त भएको थियो। सोमबार उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले उक्त दरबारको उद्घाटन गरे ।

उनले प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालमार्फत गृह मन्त्रालयलाई भवन हस्तान्तरण गरे । सहरी विकास मन्त्रालय मातहत दरबार निर्माण भएको हो । उपप्रधानमन्त्री सिंहले समग्र अछामको पहिचान बोकेको ऐतिहासिक दरबारलाई सदुपयोग र आउने पिढीलाई यसको महत्वबारे जानकारी दिनुपर्ने बताए ।


उनले दरबारको विकास र बाँकी संरचना निर्माणका लागि मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। दरबारको दुई करोड ४८ लाखमा पुनर्निर्माण भएको हो । तीन तला रहेको यस दरबारमा काठको बढी प्रयोग गरी कलात्मक बनाइएको छ। कार्यक्रममा प्रतिनिधिसभा सदस्य पुष्पबहादुर शाह, कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही, सुदूरपश्चिम प्रदेशसभा सदस्य मानबहादुर रावल, मङ्गलसेन नगरपालिका प्रमुख पदमबहादुर बोहरालगायतले मन्तव्य राखेका थिए ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: