काठमाडौं । आज (सोमबार) संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ। तल्लो सदन (प्रतिनिधि सभा) बैठक दिउँसो १ बजे र माथिल्लो सदन (राष्ट्रिय सभा) बैठक दिउँसो १:१ बस्ने गरी समय निर्धारण भएको छ। यसअघि प्रतिनिधि सभा बैठक साउन १० गते बसेको थियो । राष्ट्रिय सभा बैठक साउन १८ गते बसेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भएर बाहिरिएको तस्करीको १ क्विन्टल सुन बरामद प्रकरणले पछिल्लो समय संसद्का दुवै सदनका बैठकहरु प्रभावित हुँदै आएका छन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरी समिति गठन गरिनुपर्ने माग गर्दै सदन अवरुद्ध गर्दै आएको छ। एमालेले प्रतिनिधि सभाको साउन १० गतेको बैठकमा उच्चस्तरीय समिति गठनको माग गर्दै अवरोध सिर्जना गरेको थियो । एमालेको अवरोधपछि साउन १० गतेको बैठक स्थगित गर्दै सभामुख देवराज घिमिरेले अर्को बैठक साउन १५ गते, सोमबार बस्ने जानकारी दिएका थिए। साउन १५ गते बस्दै नबसी अर्को दिन (साउन १६ गते, मंगलबार)का लागि बैठक सारियो। मंगलबार पनि बैठक बसेन । सूचना टाँस गरेर नै प्रतिनिधि सभा बैठक १ हप्ताका लागि सारिएको थियो ।
राष्ट्रिय सभा बैठक भने साउन १८ गते, बिहीबार बसेको थियो। उक्त बैठकमा एमालेले सुन तस्करी छानबिनको लागि उच्चस्तरीय समिति गठनको माग गर्दै अवरोध सिर्जना गरेको थियो। एमालेको अवरोधपछि राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले साउन २२ गते सम्मका लागि बैठक स्थगित गरेका थिए । आज (सोमबार) बस्ने प्रतिनिधि सभा बैठकका लागि सम्भावित ६ वटा कार्यसूची रहेका छन्। यस्तै, राष्ट्रिय सभा बैठकका लागि सम्भावित ४ वटा कार्यसूची रहेका छन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google