काठमाडौं । मन्त्रिपरिषद् बैठकले शुक्रवार ललितपुरको बालकुमारीमा भएको प्रदर्शनका क्रममा मारिएका दुई जनाको परिवारलाई क्षतिपूर्ति दिने निर्णय गरेको छ । शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई दस/दस लाख रुपैयाँ दिने र घाइतेहरूको उपचार सरकारले गर्ने निर्णय भएको सरकारका प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी छन् । सोबापतको रकम अर्थ मन्त्रालयले गृह मन्त्रालयलाई निकासा दिने निर्णय भएको छ ।
उनका अनुसार बैठकले शुक्रबारको घटनाबारे दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्ने निर्णय गरेको छ । घटनाबारे निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्ने र भविष्यमा यस्ता प्रकृतिका घटना हुन नदिन गृह मन्त्रालयले सुरक्षा निकाय र अन्य सम्बद्ध निकायलाई थप सतर्क संयमित तथा प्रभावकारी बनाउने भन्ने पनि निर्णय पनि आजको मन्त्रिपरिषद् बैठकबाट भएको मन्त्री शर्माले जानकारी दिइन् ।
बैठकले आगामी दिनमा यस्ता घटना हुन नदिन र शान्ति सुरक्षा कायम गर्न सरकार प्रतिबद्ध रहेकाले घटनालाई संयमतापूर्वक लिई शान्ति सुरक्षाको वातावरण बिग्रन नदिन सबैलाई आह्वान गरेको छ । शुक्रबार इपिएस भाषा परीक्षाको विषयलाई लिएर आन्दोलित भएकाहरूले बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री चढ्ने सरकारी गाडीमा आगजनी गरेका थिए ।
त्यसपछि तनावग्रस्त बनेको ग्वार्को क्षेत्रमा प्रहरीले लाठी चार्ज, अश्रुग्याँस र गोलीसमेत चलाएको थियो । घटनामा २३ वर्षीय सुजन रावत र २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको थियो । मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाउनुअघि प्रधानमन्त्री प्रचण्डले बिहान गृहमन्त्री सहित सुरक्षा निकायका प्रमुख र अन्य अधिकारीहरूसँग छलफल गरेका थिए ।
शनिबार बिहानकै बैठकले शुक्रबार फिल्डमा खटिएका प्रहरी नायब उपरीक्षक, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाका पिएसओलाई निलम्बन गर्ने निर्णय पनि गरेको थियो । यस्तै, ललितपुरका एसएसपी शिद्धिविक्रम शाहलाई पनि प्रहरी हेडक्वार्टर र सिडिओ रूद्रप्रसाद पण्डितलाई थप सोधपुछका लागि गृह मन्त्रालय तान्ने निर्णय गरेको थियो ।
२०८० पुस १४ गतेको मन्त्रिपरिषद बैठकका निर्णयहरू:-
१. मिति २०८०/९/१३ का दिन ललितपुरको बालकुमारी क्षेत्रमा भएको घटनामा दैलेखका श्री सुजन राउत र अछामका श्री वीरेन्द्र शाहको दुःखद् निधन भएकोमा नेपाल सरकार गहिरो दुःख प्रकट गर्दछ ।
सो घटनाका मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछ। सो घटनाका घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।
२. घटनामा निधन भएकाका परिवारलाई प्रतिपरिवार दश लाख रुपैयाँ उपलब्ध गराउने। उक्त घटनामा परी घाइते भएका व्यक्तिहरूको सम्पूर्ण उपचार खर्च नेपाल सरकारले व्यहोर्ने। सो बापतको रकम अर्थ मन्त्रालयले गृह मन्त्रालयलाई निकासा दिने।
३. उक्त घटनाको सम्बन्धमा निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्ने। भविष्यमा यस्ता प्रकृतिका घटना हुन नदिन गृह मन्त्रालयले सुरक्षा संयन्त्र र अन्य सम्बद्ध निकायलाई थप सतर्क, संयमित र प्रभावकारी बनाउने ।
४. आगामी दिनमा यस किसिमका घटना हुन नदिन र शान्ति सुरक्षा कायम गर्न नेपाल सरकार प्रतिबद्ध रहेकाले यस घटनालाई संयमतापूर्वक लिई शान्ति सुरक्षाको वातावरण बिग्रन नदिन सबैलाई अपील गर्दछ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google