काठमाडाैं । संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधनका लागि मिलेर सरकार बनाउने सहमति गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको हो । पहिलो पल्टमा एमाले अध्यक्ष ओली प्रधानमन्त्री हुनेछन् भने त्यसपछि देउवाले चुनावसम्म सरकारको नेतृत्व गर्नेछन् । संसदको बाँकी कार्यकाल दुई नेताले आधाआधा बाँड्ने सहमति भएको छ ।
उनीहरु संविधान संशोधन गरेर निर्वाचन प्रणाली सुधार, प्रतिनिधिसभा तथा प्रदेशसभा संख्या घटाउने, स्थानीय तहको संख्या घटाउने विषयमा पनि सहमत भएका छन् । त्यसका लागि पूर्वप्रधान न्यायाधीशको नेतृत्वमा संविधान संशोन सुझाव समिति गठन गर्ने पनि समझदारी बनेको छ ।
चपली हाइटस्थित व्यवसायी रामेश्वर थापाको निवासमा दुई नेताले नयाँ सरकार गठनसम्बन्धी सहमति गरेको कांग्रेसका एक पदाधिकारीले बताए । त्यसअघि उनीहरूले राष्ट्रपति रामचन्द्र पौडेलसँग एमालेले सरकारलाई दिएको विश्वासको मत फिर्ता गरेपछि ७६(२) अन्तर्गत नयाँ सरकारको आह्वानगर्नेबारे आश्वस्त भएका थिए ।
मंगलबार नै एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको विश्वासको मत फिर्ता लिने तयारी छ । लगत्तै कांग्रेस, एमाले, लोसपा र राप्रपासहित दुई तिहाइ बहुमतसहित राष्ट्रपतिसमक्ष नयाँ सरकार गठनका लागि दाबी पेस गर्ने तयारीमा दुई दल छन् ।
त्यसअघि एमाले महासचिव शंकर पोखरेल र कांग्रेसका संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले ललितपुरको भिभान्ता होटलमा बसेर सहमतिको खाका तयार पारेका थिए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google