काठमाडाैं । हालै पदोन्नति भएका प्रहरी अतिरिक्त महानिरीक्षकद्वय उमेश राज जोशी र भिम प्रसाद ढकाल तथा प्राविधिक प्रहरी नायव महानिरीक्षकद्वय डा. देउती गुरूङ र ई. नबिन्द अर्याल दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन् । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित विशेष समारोहबीच उनीहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् । नेपाल सरकार मन्त्रिपरिषद्को २०८१ वैशाख २७ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा जोशी र ढकाल तथा नेपाल सरकार उपप्रधानमन्त्री एवं गृहमन्त्रीस्तरको २०८१ वैशाख २३ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षकबाट प्राविधिक प्रहरी नायव महानिरीक्षक पदमा गुरूङ र अर्याल गरी ४ जना वरिष्ठ प्रहरी अधिकृतहरू पदोन्नति भएका थिए ।
दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले पदोन्नति भएका वरिष्ठ प्रहरी अधिकृतहरूले पदोन्नतिसँगै जिम्मेवारी वोध गरी संगठनको हितमा रणनीतिक रूपमा विशेष भूमिका निर्वाह गर्नुपर्ने बताए । आगामी दिनमा कुशल नेतृत्व प्रदान गर्न आग्रह गर्दै परिणाममुखी समन्वयका साथ सामुहिक प्रयास सहित संगठनको छवि र शिर उच्च पार्न भूमिका निर्वाह गर्नुपर्ने उनले उल्लेख गरे ।
सरुवा/काज भई जानु हुने प्रहरी निरीक्षकहरुलाई निर्देशन सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले विभागीय रूपमा पाएको नीति निर्देशन तथा नेपाल प्रहरी कार्ययोजना २०८० अनुसार सांगठनिक उदेश्य एवम् लक्ष्य प्राप्त गर्नका लगि परिणाममुखी समन्वयका साथ सामुहिक प्रयास सहित इमानदार, उर्जाशील एवम् सिर्जनशील भई कार्यसम्पादनको गुणस्तर राम्रो बनाउन आफैलाई उत्प्रेरित गर्दै काम गर्न निर्देशन दिए ।
सांगठनिक सुद्धिकरण र सुदृढिकरणलाई केन्द्रबिन्दुमा राखेर प्रहरीको व्यवसायिकता झल्काउने गरी सकारात्मक सोचका साथ कार्यसम्पदान गर्नुपर्नेमा उनले जोड दिए । प्रहरी महानिरीक्षक कुँवरले प्रहरी संगठनको विधि र मापदण्डलाई कार्यान्वयन गर्ने, सोही अनुसार कार्यसम्पादन गर्ने र सिमान्तकृत एवम् पीडितवर्गहरूको सारथी भई उनीहरूको समस्या एवम् गुनासोलाई सम्बोधन गरी न्याय दिलाउन ध्यान दिनुपर्ने बताए । संगठनलाई आँच आउने, विधि उल्लघंन गर्ने र संगठनको नीति विपरीत काम गर्ने जो कोही प्रहरी कर्मचारीलाई कारबाहीको दायरामा ल्याइने उनले बताए ।
यसअघि नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राई, अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ, कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्य, प्रशासन विभागका प्रहरी नायव महानिरीक्षक केदार ढकालले समेत सरूवा भई जान लागेका प्रहरी अधिकृतहरूलाई समसामयिक विषयमा निर्देशन दिएका थिए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google