काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायका उपभोक्तालाई छिटो र सहजरूपमा न्याय दिने उद्देश्य सोमबारदेखि पेसी तारिखका लागि स्वचालित (अटोमेसन) प्रणाली लागू गर्ने बताएका छन् । संवैधानिक तथा न्यायिक पत्रकार मञ्चद्वारा नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठलाई बधाई तथा शुभकामना दिन आइतार आयोजित कार्यक्रममा उनले भने सोमबारदेखि उक्त प्रणाली लागू गर्न लागिएको जानकारी दिए ।
‘पहिला सर्वोच्च अदालतमा परीक्षणका रूपमा मुद्दाको पेसी तारिख अटोमेसन प्रणालीबाट सुरु गरिन्छ, परीक्षण सफल भए काठमाडौं जिल्ला अदालत र धेरै मुद्दा भएका अदालतमा प्रयोगमा ल्याइनेछ’, प्रधानन्यायाधीश श्रेष्ठले भने । यो प्रविधि सर्वोच्च अदालतको सूचना प्रविधि शाखाले बनाएको भन्दै उनले यसको प्रयोग सफल भए न्यायसम्पादनमा सबैलाई फाइदा पुग्ने बताए ।
उनले न्यायाधीश नियुक्ति प्रक्रिया जतिसक्दो छिटो गर्नका लागि आफू लागिरहेको र सक्षम न्यायाधीश नियुक्ति गरेर न्यायालयप्रति जनआस्थावृद्धिका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
‘न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढिसकेको छ, न्यायाधीशको संख्या कम हुँदा न्याय सम्पादनमा कठिनाइ भइरहेको छ’, प्रधानन्यायाधीश श्रेष्ठले थपे, ‘सक्षम न्यायाधीश नियुक्ति हुनेमा विश्वास दिलाउँछु ।’
नेपालको ३१औँ प्रधानन्यायाधीशका रूपमा श्रेष्ठ यही भदौ ४ गते नियुक्त भएका थिए । उनले भदौ ५ गते पद तथा गोपनीयताको शपथ लिएर पदबहाली गरी कार्यभार सुरु गरेका हुन् । मञ्चले लामो समयदेखि न्यायालय र कानुनको क्षेत्रमा कलम चलाउने पत्रकारबीच पुलको भूमिका निर्वाह गर्दै आएको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google