काठमाडाैं । उच्च अदालत पाटनले सन्दीप लामिछानेबाट बलात्कारमा परेकी गौशाला-२६ को जन्मदर्ताको प्रमाणित प्रतिलिपि र उनले प्रमाणपत्रको प्रतिलिपि प्राप्त गर्नको लागि दिएको निवेदनको सक्कल प्रति माग गरेको छ । न्यायाधीश मुनेन्द्र प्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको इजलासले यस्तो प्रमाणपत्र तादी गाउँपालिका-२ बाट मगाउन आदेश गरेको हो ।
‘उक्त जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि प्राप्त गर्नको लागि दिएको निवेदनको सक्कलै प्रति एवम् जन्मदर्ता प्रमाणपत्रको स्पष्ट बुझिने प्रति तादी गाउँपालिका वडा नं. २ को कार्यालयबाट अविलम्ब माग गरी नियमानुसार पेश गर्नुहोला,’ उक्त आदेशमा भनिएको छ । गौशाला-२६ को बलात्कार गरेको अभियोगमा दोषी ठहर भएका सन्दीपलाई अधिकतम सजायको माग गर्दै उच्च सरकारी वकिलको कार्यालयले र आफूले सफाइ पाउनुपर्ने जिकिर गर्दै सन्दीपले दिएका पुनरावेदन मुद्दामा उच्च अदालत पाटनले आजदेखि सुनुवाइ थालेको थियो ।
गएको पुस १३ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिर ढकालले बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गरेको थियो । पुस २५ गते सोही इजलासले उनलाई ८ वर्ष कैद सजाय, तीन लाख रुपैयाँ जरिवाना र पीडितलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि आदेश गरेको थियो। गौशाला २६ नाबालिग रहेको भन्ने जाहेरवाला र सरकारी वकिलको दाबीलाई जिल्ला अदालतले अस्वीकार गरेको थियो । जिल्लाले गौशाला २६ नाबालिग नरहेको भनेको थियो ।
जिल्ला अदालतको सोही फैसला नमिलेको भन्दै उच्च सरकारी वकिल कार्यालयले फागुन २९ गते मंगलबार उच्च अदालत पाटनमा पुनरावेदन दिएको थियो । उक्त पुनरावेदन उच्च अदालतले फागुन ३० दर्ता गरेको थियो ।त्यसअघि सन्दीप लामिछानेले पनि जिल्ला अदालतले आफूलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको विपरीत उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए । त्यसपछि उनले थुना बाहिर बसेर पुनरावेदन गर्ने सुविधा पाएका थिए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google