
काठमाडाैँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ ।
भाइटीकाको शुभ साइत १८ कात्तिक आइतबार बिहान ११ बजेर ३७ मिनेटमा रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । पश्चिम मोहडा गरेर भाइटीका लगाउनुपर्ने पनि समितिले जनाएको छ । नेवार समुदायले मनाउने किजापूजा पनि त्यसै दिन गर्नुपर्ने जनाइएको छ ।
यस वर्षको यमपञ्चक अर्थात् नेपालीको दोस्रो ठूलो चाड तिहार १३ कात्तिकदेखि सुरु हुँदै छ । मंगलबार धनत्रयोदशी (धनतेरस) पर्व मनाइन्छ । यमदीपदान भने १४ कात्तिकदेखि बुधबार परेको छ । कागतिहार पनि बुधबार नै मनाउनुपर्ने समितिले जनाएको छ । आयुर्वेदका प्रवर्तक धन्वन्तरीजयन्ती पनि बुधबार नै मनाइन्छ ।
कुकुर तिहार, नरक चतुर्दशी, दीपमालिका र लक्ष्मीपूजा पनि १५ कात्तिकमा मनाउनुपर्छ । १६ कात्तिकमा औँशी परेको छ । त्यसदिन भने तिहारको कुनै पर्व नपरेको समितिको विज्ञप्तिमा उल्लेख छ । १७ कात्तिकमा गाईगोरु पूजा, गोवर्द्धन पूजा, बलि पूजा, हलीतिहार, म्हपूजा र नेपाल संवत् ११४५ प्रारम्भ पनि परेको छ । यसैगरी, २२ कात्तिकमा छठ पर्व परेको पनि समितिले जनाएको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google