विश्वविद्यालयमा प्रहरी परिचालन गरेर भए पनि राजनीतिक दलका भातृ संगठनको हस्तक्षेपलाई अन्त्य गर्ने शिक्षामन्त्रीकाे घाेषणा

दर्पण दैनिक १८ असार २०८१,१६:१६
post

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रमा हुने दलीय राजनीतिकरण हटाएरै छाड्ने बताएकी छन् । आज (सोमबार) प्रतिनिधि सभा बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले आफू मन्त्री रहँदासम्म शिक्षा क्षेत्रमा हुने दलीय राजनीतिकरण हटाएरै छाड्ने बताएकी हुन् । उनले विश्वविद्यालयमा प्रहरी परिचालन गरेर भए पनि राजनीतिक दलका भातृ संगठनको हस्तक्षेपलाई अन्त्य गर्ने बताइन् । उनले त्रिभुवन विश्वविद्यालयमा सेवा आयोगले खोलेको विज्ञापनमा अन्तर्वार्ता प्रहरी राखेर गर्नुपरेको बताइन् ।

उनले भनिन्, त्रिविमा सेवा आयोगले नयाँ विज्ञापन खोलेको थियो । त्यो विज्ञापन गर्न पाइँदैन भनेर फेरि अर्को एउटा समूह उठेछ र तालाबन्दी गरेछ । धम्की दिएछ । प्रहरीहरू राखेर अन्तर्वार्ता गर्नुपर्ने । प्रहरीहरू राखेर गर्नुपर्ने काम छ । यसमा सबैले म म गर्नुपर्ला । त्यो भ्रातृ संगठनहरु कुन राजनीतिक दलको हो भनेर । शिक्षामन्त्री गयो भने राजनीतिक हस्तक्षेप, प्रहरी गयो भने राजनीतिक हस्तक्षेप । गुण्डागर्दीहरूको राजनीतिक हस्तक्षेप हुँदैन ? त्यसकारण यो त्यतिबेलासम्म कायम हुन्छ जुन बेलासम्म दलीय राजनीतिक हस्तक्षेप अन्त्य हुँदैन । तर जबसम्म म शिक्षामन्त्री छु, बरु प्रहरी प्रयोग गर्छु । तर गुण्डागर्दी सहिन्न । दलीय राजनीतिकरण हटाएरै छोड्ने हो । जसरी भए पनि छोड्ने हो ।’


मन्त्री श्रेष्ठले एसइई परीक्षाको नतिजामा शिक्षा मन्त्रालय मात्र नभई सिङ्गो समाज नै आक्रोशित हुनुपर्ने बताइन् । उनले एसइईमा विद्यार्थी अनुत्तीर्ण भएका प्रतिशतले समाजको चित्रण गरेको बताइन् । उनले शिक्षा क्षेत्रको सुधारका लागि शिक्षक, अभिभावक, राजनीतिक व्यक्ति सबैले उत्तिकै ध्यान पुर्‍याउनु पर्ने बताइन् ।

उनले भनिन्, ‘एसइईको नतिजामा शिक्षा मन्त्रालयले मात्रै होइन सिङ्गो समाजले आक्रोशित हुनुपर्छ । ग्लानी महसुस गर्नुपर्छ र सोध्नुपर्छ । म म गर्नुपर्छ । मैले गर्ने काम मैले के गरेको छ कि छैन भनेर । किनभने १० कक्षाको नतिजा अहिले मात्रै आएको हो ? १० वर्ष अगाडि त त्यो बच्चा १ कक्षामा थियो । त्यो भन्दा अगाडि इसिडिमा थियो । त्यो बेलादेखि हामीले गरेको लगानी, हामीले कत्तिको यसमा एफोर्ट लगाएका छौँ भन्ने । यो विद्यार्थीहरू फेल भएको भन्दा पनि यो हाम्रो चित्रण हो भनेर मलाई लाग्छ ।’

उनले भनिन्, ‘अर्को वर्ष यसको प्रतिशत कति हुन्छ भन्दा पनि यसमा अब हामीले गर्नुपर्ने सुधारका कामहरु के–के हुन् ? यसमा हामीले ध्यान दिनुपर्छ । कार्यविधिहरू छन् । त्यसको कार्यान्वयनमा हामी हरेक तहबाट के गर्न सक्छौँ ? सरकारलाई कुरेर मात्रै हुँदैन । सबै जनाको दायित्व हो । स्कुलमा फोन गरेर हुन्छ, निर्वाचन क्षेत्रको अनुगमन गरेर हुन्छ, त्यसमा शिक्षकहरूलाई कक्षाकोठामै राख्नुपर्‍यो । संरचनागत सुधारका काम गर्नुपर्छ । शिक्षामा सदैव गुणस्तरका लागि खबरदारी गर्नुपर्छ ।’ मन्त्री श्रेष्ठले तालाबन्दी गरेर विद्यार्थीहरूको पढ्ने अधिकार खोस्ने प्राध्यापकलाई कारबाही गरिने बताइन् ।

सम्बन्धित खबर

post

एसईईको नतिजा सार्वजनिक

२१ असार २०८०,१६:१३
post

कक्षा १२ को नतिजा प्रकाशित

३० श्रावण २०८०,१८:३८
post

शिक्षा विधेयक संसदमा पेस

१४ आश्विन २०८०,१७:१०
post

कक्षा १२ को परीक्षा आजदेखि

१४ बैशाख २०८१,०७:१२
post

२०८१ को एसईई चैत ७ देखि

१ माघ २०८१,०९:२३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: