२० वर्षपछि भिडियोसहित आयो मार्मिक 'मुटुको टुक्रा'

सन्तोष दहाल ९ जेष्ठ २०८१,०६:३४
post

सन्तोष दहाल, काठमाडौँ । २०६०-६१ तिरको समय । देशमा शाही राजाको शासनकाल थियो  । संगसँगै सशस्त्र माओवादीले सञ्चालन गरेको  जनयुद्ध नामको सङ्घर्ष पनि उत्कर्षमै थियो । त्यस समयमा तत्कालीन आम सञ्चारमाध्यममा आउने समाचारका हेडलाईन, कविले लेख्ने कविता, कलाकारले लेख्ने र गाउने गीत सबैतिर जनयुद्ध पीडितका कथा, देशको दुर्दशा, विदेसिने नेपालीका पीडाका कथाहरुले नै प्राथमिकता पाउँथे । 

यस्तैका बीच रेडियोहरुमा एउटा मार्मिक लय र शब्दसहितको गीत गुञ्जिन थाल्यो...

सुख पाउने कहिल्यै होईन सधैं ऋणै ऋणमा 
भावीले नि के लेखेछ छैटौँको दिनमा
विदेश जाने मन थेन मलाई 
गाह्रो पर्यो घर खर्च धान्नलाई
मुटुको टुक्रा मेरो कलेजीको लेउ
रोएर होईन मलाई हाँसेर बिदा देउ

देशैभरी जनयुद्धले आक्रान्त र जर्जर भएको, साथै गरिबीले पिल्सिएका जनता अधिकांश रहेको अवस्थामा उद्धव कार्की र गीतादेवीको स्वरमा आएको यो गीत नसुन्ने र सुनेर भावुक नहुने सायदै कोही भए होलान् । गरिबीको घाउलाई मल्हमपट्टी लगाउन परदेश गएर धन कमाएर ल्याई साहुको बन्धकमा रहेको घरखेत वारि निखन्ने अभिलाषा बोकेको एउटा श्रीमानले श्रीमतीसंग विदेश जाने कुरो सुनाउँदा श्रीमतीले सिस्नोखोले यहीँ खाउँला विदेश नजाउ भन्दै अनुनय विनय गर्छिन । 

उक्त अनुनय मुनामदन कथामा भोट जाने बेला मुनाले मदनसमक्ष गरेको अनुनयभन्दा कमी सुनिँदैन....

आज हाम्लाई दिनदशाले साह्रै दुस्ख भईछ
नेपाल पनि स्वर्गसमान भाछ कतिलाईत
जान्छु विदेश नभन न प्राणप्यारा हेर 
वनमा भको सिस्नो खाउँला खोले बनाएर
गएपछी कहिले हो आउने
मुटु चुँडी कसरी पठाउने
औँसीको चतुर्दशी आज मङ्गलबार
यो दिनमा गयौ भने भेट हुन्न जनमभर ।

नेपाली लोक सांगितिक क्षेत्रमा त्यतिबेला अडियो क्यासेटको जमाना थियो । अहिलेजस्तो डिजिटल प्रविधी थिएन । उसबेलाको ६० को दशकको समयमा यस्ता जनताक दुस् ख पीडाका गीत गाउने कलाकारमा प्रख्यात थिए रेशम थापा,उद्धव कार्की, घमेश दुलाल, गीता देवी,सीता थापा,भगवती दंगाल लगायतका काँठ क्षेत्रका कलाकारहरु । जसका यस्ता गीतहरु सीमित समयको लागि मात्र नभएर अनन्तकालसम्मका लागि कालजयी बनेर आजपर्यन्त पनि नेपाली गीत संगीतप्रेमीको मानसपटलमा निरन्तर गुञ्ज्यास भईरहेका छन् ।

माथी उल्लेखित गीतका गायक उद्धव कार्की तीनै व्यक्ती हुन्, जो सशस्त्र दशवर्षे जनयुद्धको समयमा शान्तिको सन्देश दिने एउटा गीत गाएकै कारण आफ्नो गाउँबाट विस्थापित हुनुपरेको थियो । गृहयुद्धबाट हरेक घरघरका मानिस मारिने र बेपत्ता पारिने क्रम निरन्तर चकिरहँदा त्यसै परिवेशमा कार्कीले ूनरुवाउ नेपाल आमालाईू  नामको सन्देशमुलक गीत बजारमा ल्याए ।

जनताले चाहान्छन शान्ति
चाहँदैनन हिंसा र अशान्ती
नेपाली दाजुभाई
आफ्नै आफ्ना आपसमा लडेर नरुवाउ नेपाल आमालाई ।

ती आमाको मन कति दुख्ला
छोरो मरी लास घर आईपुग्दा
नेपाली दाजुभाई
आफ्नै आफ्ना आपसमा लडेर नरुवाउ नेपाल आमालाई।

उद्धव कार्कीले यस्ता कालजयी गीतहरु धेरै गाए र आज पनि लोक साँगितिक क्षेत्रमा उत्तिकै सक्रिय छन् । यतिबेला कार्की त्यही २० वर्ष अघिको गीत मुटुको टुक्रालाई नयाँ प्रविधिको प्रयोग गर्दै पुनस् रेकर्डिङ गरेर भिडियोसहित डिजिटल बजारमा आएका छन् ।

यसपटक यस गीतमा कार्कीलाई रचना रिमालले स्वरमा साथ दिएकि छन् । शिवपुरी म्युजिक प्रालिमार्फत डिजिटल बजारमा मंगलबारबाट बजारमा आएको उक्त भिडियोमा  रवि कार्की,आयुष्मा कार्की,राम गौतम ,किशोर पाण्डे लगायतको सुन्दर र मार्मिक अभिनय देख्न सकिन्छ । यस गीतका लय-शब्द संकलक भीम बहादुर देउजा हुन् । म्युजिक भिडियोलाई रवि कार्कीले निर्देशन गरेका हुन् ।

भिडियाे : https://youtu.be/dHhtpZO83y8?si=yumb-1_e2Q0z3Q6x

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: