
काठमाडौं । सुरज पाण्डेले निर्देशन गरेको नेपाली चलचित्र ‘परस्त्री’ भारतका सिनेमा हलमा प्रदर्शन हुने भएको छ । भारतको पिभिआर सिनेमाज कम्पनीले हिन्दी भाषामा डबिङ गरिएको यो चलचित्रलाई प्रदर्शनमा ल्याउन लागेको हो । निर्देशक पाण्डेका अनुसार पिभिआरले पाँच सयवटा थिएटरमा ‘परस्त्री’ रिलिज गर्न लागेको हो ।
पाण्डेले असार १५ गते (जुन ३०) प्रदर्शन गरिने जानकारी दिए । उनले भने, ‘पिभिआरले पाँच सयवटा हलमा रिलिज गर्छु भनेको छ । तर, हामीले योभन्दा धेरै हलमा रिलिज गर्न भनेका छौँ ।’ उनले ‘परस्त्री’ को हिन्दी डबिङ भइसकेको जानकारी दिए । निर्माण पक्षका अनुसार चलचित्रको डिस्टिब्युटर कट, ट्रेलर र पोस्टर हेरेर पिभिआरले सिनेमाको हल रिलिज गर्ने निर्णय गरेको हो । निर्देशक पाण्डेले ‘परस्त्री’ को भारतीय बजारका लागि दुई गीत हिन्दीमा रेकर्ड हुने जनाए । उनले गायिका सोनल प्रधानले चलचित्रका लागि हिन्दी गीत गाउने बताए ।
दीपेन्द्र के खनालको कथा रहेको यो चलचित्र शर्मिला पाण्डेले निर्माण गरेकी हुन् । यो चलचित्र नेपालमा पनि १५ असारमै प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ । चलचित्रमा कोसिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट, अलिसा क्षेत्री, आशान्त शर्मालगायतका कलाकारका अभिनय छ । यो चलचित्रको गत शुक्रबार पोस्टर सार्वजनिक गरिएको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google