भारतका पूर्वप्रधानमन्त्री सिंहकाे निधन, यसरी सम्झिए प्रधानमन्त्री माेदीले

दर्पण दैनिक १२ पुष २०८१,०९:३०
post

काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको बिहीबार राति ९२ वर्षको उमेरमा निधन भएको छ । घरमा अचानक बेहोस भएपछि उनलाई दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) लगिएको थियो । उमेरसँग सम्बन्धित स्वास्थ्य समस्याका कारण उनको लामो समयदेखि उपचार भइरहेको थियो र, बिहीबार घरमा अचानक बेहोस भएका उनलाई तुरुन्तै राति ८ः०६ बजे नयाँ दिल्लीस्थित एम्समा मेडिकल इमर्जेन्सीमा लगिएको थियो ।

‘सबै प्रयासका बावजुद उहाँलाई बचाउन सकिएन र राति ९ः५१ बजे उहाँलाई मृत घोषित गरियो’, एम्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ । सिंहले ३३ वर्ष सेवा गरेपछि यसै वर्षको सुरुमा अवकाश विश्राम लिएका थिए ।

सन् १९३२ मा पञ्जाबमा जन्मिएका मनमोहन सिंहले सन् २००४ देखि २०१४ सम्म दुई कार्यकाल भारतको प्रधानमन्त्रीको रूपमा काम गरेका थिए । सन् २००४ को लोकसभा चुनावमा अटल बिहारी बाजपेयी नेतृत्वको एनडीएविरुद्ध कंग्रेसले विजय हासिल गरेपछि उनले पहिलो पटक प्रधानमन्त्री पदको शपथ लिएका थिए । सिंहले सन् २००९ देखि २०१४ सम्म दोस्रो कार्यकाल सम्हालेका थिए । सन् २०१४ मा उनले वर्तमान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जिम्मेवारी सुम्पिएका थिए ।

यसैबीच, भारतीय प्रधानमन्त्री मोदीलगायतका सत्ताधारी दल र विपक्षी दलका नेताहरूले उनलाई एक असल एवं कर्तव्यनिष्ठ प्रधानमन्त्रीका रूपमा स्मरण गरेका छन् । प्रधानमन्त्री मोदीले सिंहको निधनको खबरले आफुलाई दुखी तुल्याएको उल्लेख गर्दै भनेका छन्, ‘भारतले आफ्ना एक सम्मानित नेता डा. मनमोहन सिंहजीलाई गुमाएको छ। नम्र पृष्ठभूमिबाट उठेर उहाँले एक सम्मानित अर्थशास्त्रीको रूपमा आफ्नो पहिचान बनाउनुएको थियो । संसद्मा उहाँको विचारशील हस्तक्षेप सधैं अविस्मरणीय रह्यो । प्रधानमन्त्रीका रूपमा उहाँले जनताको जीवनस्तर उकास्न अथाह प्रयास गर्नुभयो ।’

कांग्रेस नेता राहुल गांधीले पनि दिवंगत नेताप्रति श्रद्धाञ्जलि दिँदै शोक सन्तप्त परिवारजनमा समवेदना दिएका छन् । उनले भनेका छन्, ‘उहाँको परिवारप्रतिे हार्दिक समवेदना प्रकट गर्दछु । मैले एक जना गुरु र मार्गदर्शक गुमाएको छु । हामीमध्ये लाखौं उहाँका शुभचिन्तक थियौं । हामी उहाँलाई गर्वका साथ सम्झनेछौं।’

सम्बन्धित खबर

post

ट्वीटरमा कसरी गर्ने लाइभ ?

२० श्रावण २०८०,०९:३१
post

बंगलादेशकाे संसद विघटन

२२ श्रावण २०८१,१६:३१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: