
काठमाडौं । भारतीय चर्चित टेलिशृंखला ‘अनुपमा’की अभिनेत्री रुपाली गांगुली भारतीय जनता पार्टी (भाजपा) मा प्रवेश गरेकी छन् । बुधबार दिल्लीस्थित भाजपा मुख्यालयमा महासचिव विनोद तावडेको उपस्थितिमा उनी पार्टीमा सामेल भएकी हुन् ।
भाजपा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी हो । अभिनेत्री रुपालीसहित फिल्म निर्देशक अमय जोशी पनि भाजपामा प्रवेश गरेका छन् । अमयले थुप्रै मराठी फिल्म निर्देशन गरिसकेका छन् ।
पार्टी प्रवेश गर्ने क्रममा गांगुलीले आफूलाई जनताको माया र साथ चाहिने बताइन् । उनले भनिन्, ‘विकासको यो महायज्ञ देख्दा म पनि यसमा सहभागी हुनुपर्छ भन्ने लाग्यो। मलाई तपाईंको आशीर्वाद र समर्थन चाहिन्छ ।’
४७ वर्षीया अभिनेत्री रुपाली अहिले टीभी शो ‘अनुपमा’को मुख्य भूमिकामा छिन्। सिरियलमा उनको अनुपमा पात्र दर्शकमाझ निकै चर्चामा छ। जसकारण रुपालीको लोकप्रियता निकै छ। सामाजिक सञ्जालमा उनलाई २० लाखभन्दा बढीले फलो गरेका छन् ।
भाजपा प्रवेश गरेसँगै अनुपमाका निर्माता राजन शाहीले रुपाली निकै मेहनेती भएको बताउँदै राजनीतिमा महिलाको प्रतिनिधित्व हुनु राम्रो भएको तर्क राखे । रुपाली दिवंगत फिल्म निर्देशक अनिल गांगुलीकी छोरी हुन् । ७ वर्षको उमेरमा आफ्नो बुवाको फिल्म ‘साहेब’बाट उनले अभिनय सुरु गरेकी थिइन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google