काठमाडौं । उत्तर प्रदेशको प्रयागराजमा पूर्वसांसद अतीक अहमद र उनका भाइ अशरफको गोली हानी हत्या गरिएको छ । उत्तर प्रदेश प्रहरीले पूर्वसांसद अतीक र उनका भाइको हत्या भएको पुष्टि गरेको छ । प्रहरीका अनुसार आक्रमणकारीहरु पत्रकार बनेर आएका थिए । तीन आक्रमणकारी पक्राउ परेका छन् । यसैबीच, मुख्यमन्त्री योगी आदित्यनाथले यस घटनालाई लिएर उच्चस्तरीय बैठक बोलाएका छन् ।
प्रहरीका अनुसार तीन आक्रमणकारीलाई नियन्त्रणमा लिइएको छ । तर, प्रहरीले आक्रमणकारीको परिचय भने सार्वजनिक गरेको छैन । आक्रमणकारीको बारेमा सोधपुछ भइरहेको र थप विवरण आउने प्रहरीले जनाएको छ । अतीक अहमदलाई प्रहरी सुरक्षामा कारबाट बाहिर निकालेर स्वास्थ्य परीक्षणका लागि लगिएको थियो । अतीक र उनका भाइको हात हत्कडीमा बाँधिएको थियो ।
पत्रकार आतीक र उनका भाइसँग कुरा गरिरहेका थिए, अचानक गोली चल्यो । र, दुवै दाजुभाइको हत्या गरियो । यस घटनाको भिडियोमा अतीक आफ्नो भाइसँग प्रहरीको बीचमा हिँडिरहेको देखिन्छ । एक पत्रकारले अतीकलाई प्रश्न गरे, क्यामेराको अगाडि पेस्तोल देखा पर्दा उनी बोल्न थाल्छन् । अतीकलाई निकै नजिकबाट गोली लागेको थियो ।
सोही क्रममा अशरफलाई गोली लागेको थियो । यसपछि द्रुत फायरिङ सुरु भयो । दुवै भाइ भूइँमा लडे । विधायक राजु पालको हत्याको आरोपमा अतीक अहमद र उनका भाइ अशरफ जेलमा परेका थिए । हत्याका बेला अतीक अहमदका वकिल विजय मिश्रा पनि घटनास्थल नजिकै थिए । योगी आदित्यनाथले पनि यस विषयमा उच्चस्तरीय छानबिनको आदेश दिएका छन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google