भारतले नेपाललाई सहयोग रकम घटायो

दर्पण दैनिक १८ माघ २०७९,१४:०२
post

काठमाडौं । भारत सरकारले नेपाललाई गर्ने सहयोग रकम घटाएको छ । बुधबार भारतीय वित्तमन्त्री निर्मला सीतारमणले पेस गरेको सन् २०२३/२४ को बजेटमा नेपाललाई पाँच अर्ब ५० करोड भारतीय रुपैयाँ (आठ अर्ब ८० करोड नेपाली रुपैयाँ) सहयोग गर्ने उल्लेख छ ।

भारत सरकारले गत वर्ष नेपाललाई सात अर्ब ५० करोड भारु (१२ अर्ब नेपाली रुपैयाँ) सहयोग गर्ने घोषणा गरेको थियो । तर, बजेटमा घोषणा भएअनुसारको सहयोग नभएको देखिएको छ ।

गत वर्ष चार अर्ब २५ करोड भारु (६ अर्ब ८० करोड नेपाली रुपैयाँ) मात्र नेपाललाई सहयोग गरिएको भारतीय बजेटमा उल्लेख छ ।

भारत सरकारले दक्षिण एसियामा नेपालसहित भुटान, बंगलादेश, श्रीलंका, अफगानिस्तान र माल्दिभ्सलाई सहयोग गर्छ । भारतले दक्षिण पूर्वी एसिया र अफ्रिकी देशहरूलाई पनि सहयोग गर्ने गर्छ ।


आउँदो वर्ष भारत सरकारले भुटानलाई सहयोगका लागि २४ अर्ब भारु छुट्ट्याएको छ ।

भारतले छिमेकी तथा मित्रदेशहरूका लागि ५४ अर्ब भारु सहयोग गर्ने घोषणा नयाँ बजेटमार्फत गरेको छ । भारतले विगतदेखि नै सबैभन्दा बढी सहयोग भुटानलाई गर्ने गरेको छ ।

नेपाललाई यसरी दिने भनिएको सहयोग भने बजेटरी माध्यमबाट आउने गर्दैन । भारतीय दूतावासले बर्सेनि स्वास्थ्यचौकीलाई दिने एम्बुलेन्स तथा विद्यालय भवन बनाउनमा सो रकम खर्च गर्ने गरिएको छ ।

सम्बन्धित खबर

post

ट्वीटरमा कसरी गर्ने लाइभ ?

२० श्रावण २०८०,०९:३१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: