इरानी राष्ट्रपतिको शपथग्रणमा भाग लिन गएका हमास वरिष्ठ नेता इस्माइल हानियाको हत्या

दर्पण दैनिक १६ श्रावण २०८१,१२:४८
post

काठमाडौँ । हमासका राजनीतिक विभाग प्रमुख इस्माइल हानियाको इजरायली आक्रमणमा मृत्यु भएको छ । इरानको तेहरानमा बुधबार नयाँ इरानी राष्ट्रपतिको शपथग्रहण समारोहमा सहभागी भएको केही क्षणपछि नै उनको हत्या भएको हो । ‘हाम्रो अभियानको प्रमुख मुजाहिद इस्माइल हानिया नयाँ इरानी राष्ट्रपतिको शपथग्रहण समारोहमा भाग लिएपछि तेहरानस्थित उहाँको मुख्यालयमा भएको यहुदी समूहको आक्रमणमा मारिनुभएको छ', हमासले एक विज्ञप्ति जारी नेता हानियाको मृत्युको पुष्टि गरेको छ । 

इरानको रिभोलुसनरी सुरक्षा गार्डले पनि तेहरानस्थित हानियाको निवासमा आक्रमण हुँदा उनीसहित एक अंगरक्षक मारिएको पुष्टि गरेको छ । ‘तेहरानमा हमास प्रमुख इस्माइल हानियाहको निवासमा आक्रमण हुँदा हमास नेता हानिया र उनका एक अंगरक्षको मृत्यु भएको छ’, इस्लामिक रिभोलुसनरी गार्ड निकट समाचार संस्था सेपाहले उल्लेख गरेको छ ।
 

हानिया मंगलबार इरानी राष्ट्रपति मसूद पेजेस्कियनको शपथग्रहण समारोहमा भाग लिन तेहरान गएका थिए । इजरायली सेनाले भने हानियाको मृत्युको सम्बन्धमा कुनै प्रतिक्रिया व्यक्त गरेको छैन ।
सन् २००६ मा प्यालेस्टिनी प्रधानमन्त्री बनेका हानिया सन् २०१७ मा खालिद मेशालको उत्तराधिकारीका रूपमा हमासको राजनीतिक विभागका प्रमुखको रुपमा निर्वाचित भएका थिए ।  


व्यावहारिकतावादी मानिने हनिया प्राय टर्की र कतार गरी दुई देशमा निर्वासनमा बस्ने गरेको मानिन्छ । हानियाले हमासका प्रतिद्वन्द्वीहरूसहित विभिन्न प्यालेस्टिनी समूहका प्रमुखहसँग राम्रो सम्बन्ध राखेको बताइएको छ । इजरायली कब्जाको बिरूद्ध पहिलो प्यालेस्टिनी विद्रोहीको रूपमा सन् १९८७ मा हमासको स्थापना भएदेखि नै उनी यस समूहमा सामेल भएका थिए । रासस/एएफपी

सम्बन्धित खबर

post

ट्वीटरमा कसरी गर्ने लाइभ ?

२० श्रावण २०८०,०९:३१
post

बंगलादेशकाे संसद विघटन

२२ श्रावण २०८१,१६:३१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: