काठमाडौँ । गत महिना रुसको औपचारिक भ्रमण गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार युक्रेनको राजधानी किभ पुगेका छन् । पोल्यान्डको औपचारिक भ्रमणपछि ट्रेनबाट घण्टौ यात्रा गर्दै मोदी केहीसमय अघि किभ पुगेका हुन् ।
किभमा प्रधानमन्त्री मोदीलाई युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले स्वागत गरेका छन् । जेलेन्स्कीसँग अंकमाल गरेको तस्बिर मोदीले आफ्नो आधिकारिक एक्स (ट्विटर) एकाउन्टमा सेयर गरेका छन् ।
रुस र युक्रेनबीच जारी युद्धमा भारतीय प्रधानमन्त्री मोदीको यो भ्रमणलाई रुचीपूर्ण ढंगले हेरिएको छ । शीतयुद्धकालीन समयदेखि सोभियत संघको समीपमा देखिदै आएको भारत पछिल्ला वर्षहरूमा पनि रुसनिकट रहँदैआएको थियाे ।
अघिल्लो महिना जुलाईमा मस्को यात्रामा रहेका बेला मोदीले रुसी राष्ट्रपति भ्लादमिर पुटिनलाई अंकमाल गरेको तस्बिर सार्वजनिक गर्दा पश्चिमा समुदायले चर्को आलोचना गरेको थियो । कतिपयले पश्चिमासँग सन्तुलन कायम राख्न मोदी अहिले किभको भ्रमणमा निस्किएको टिप्पणी गर्ने गरेका छन् । भारतीय संस्थापन पक्षले भने शान्ति कायम गर्ने प्रयासका रुपमा यो भ्रमणलाई प्रचार गर्ने कोशिस गरिरहेका छन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google