रुसको निजी सैन्य समूह वागनर समूहका प्रमुखसहित १० जना सवार विमान दुर्घटनामा

दर्पण दैनिक ७ भाद्र २०८०,०६:२६
post

काठमाडौं । रुसको निजी सैन्य समूह वागनर ग्रुपका प्रमुख येवगेनी प्रिगोजिन सहित १० जना सवार एक विमान दुर्घटना भएको छ । दुर्घटनास्थलमा कोही पनि जीवित फेला नपरेको अधिकारीहरुले बताएका छन् ।

रुसको फेडरल ट्रान्सपोर्ट एजेन्सीले सार्वजनिक गरेको विमान दुर्घटनामा मृत्यु हुनेहरुको सूचीमा येवगेनी प्रिगोजिन र सहसंस्थापक दमित्री अतकिनको नाम पनि उल्लेख छ ।

प्रिगोजिनको विमान रुसको तेवेर शहरमा दुर्घटना भएको हो । यो विमान कसैले आक्रमण गरेर जमिनमा खसालेको हो या अरु कुनै कारणले दुर्घटना भएको हो भन्ने एकिन भइसकेको छैन ।

दुर्घटनापछि विमानमा आगो लागेको थियो । वागनर भाडाका सैनिकहरुको समूह हो । यो समूहका लडाकुहरु पैसाका लागि लड्छन् । रुसले वागनरलाई युक्रेनविरुद्ध लड्न खटाएको छ ।

युक्रेन विरुद्धको लडाइँमा रुसी सेनाले आफूहरुलाई पर्याप्त हतियार नदिएको भन्दै वागनर समूह असन्तुष्ट थियो । यसअघि गत जुन महिनामा आफ्ना असन्तुष्टिका बीच वागनर समूह युक्रेनबाट फर्किएर रुसकै रोस्तोव शहर कब्जा गरेर बसेको थियो । आफ्ना कुराको सुनुवाइ नभए राजधानी मस्को कब्जा गर्ने धम्की दिएपछि रुसमा हलचल मच्चिएको थियो । तर पछि वागनर समूह पछि हटेको थियो । रक्तपात रोक्नका लागि विद्रोह स्थगित गरेको भन्दै प्रिगोजिन बेलारुस गएका थिए ।

त्यतिबेला वागनर समूहको विद्रोहको धम्की सार्वजनिक भएपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसलाई धोका दिने हरेक व्यक्तिले दण्ड सजायँ भोग्नुपर्ने चेतावनी दिएका थिए ।

सम्बन्धित खबर

post

ट्वीटरमा कसरी गर्ने लाइभ ?

२० श्रावण २०८०,०९:३१
post

बंगलादेशकाे संसद विघटन

२२ श्रावण २०८१,१६:३१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: