वासिङटन डिसी : अमेरिकी वाइडेन प्रशासनले शनिबार अमेरिकी एटलान्टिक तटमा ‘चिनियाँ बेलुन’ खसालेकोमा पेन्टागनको प्रशंसा गरेको छ । तर चीनले यस कदमप्रति आफ्नो ‘कडा असन्तोष’ व्यक्त गर्दै ‘आवश्यक प्रतिक्रिया’ दिन सक्ने बताएको छ । उक्त बेलुनले उत्तर अमेरिकी क्षेत्रमा केही दिन बिताएको पेन्टागनका अधिकारीहरूले बताएका छन् । पेन्टागन स्रोतका अनुसार एफ–२२ विमानबाट क्षेप्यास्त्र प्रहार गरी दक्षिणपूर्वी राज्य दक्षिण क्यारोलिनाको तटमा उक्त बेलुनलाई खसालिएको हो ।
चीनको विदेश मन्त्रालयले आइतबार बिहान एक विज्ञप्ति जारी गर्दै अमेरिकी कदमको निन्दा गर्दै ‘नागरिक’ विमान (बेलुन) खसालेको घटना’ स्पष्ट रूपमा अतिरञ्जित र अन्तर्राष्ट्रिय अभ्यासको गम्भीर उल्लङ्घन’ भएको बताएको छ । प्रत्यक्षदर्शीले सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियोमा बेलुन सेतो पफमा टुक्रिएको जस्तो देखिएको थियो र यसको अवशेष तल एटलान्टिक महासागरमा सिधै खसेको देखिएको छ ।
ट्विटर प्रयोगकर्ता हेली वाल्शले दक्षिण क्यारोलिनाको एक लोकप्रिय रिसोर्ट शहर मर्टलबिचमा विस्फोटको आवाज सुनेको बताएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले शनिबार बेलुनको ‘निगरानी गर्ने’ बताएका थिए। बाइडेनले मेरिल्याण्डमा पत्रकारहरूसँगको कुराकानीमा भने, 'उनीहरूले यसलाई सफलतापूर्वक तल खसाले । म यस कार्यमा सरिक हुने हाम्रा ‘एभिएटर्स’को प्रशंसा गर्छु ।'
घटनालाई चीनले ‘स्पष्ट रूपमा अतिरञ्जित’ भनेको छ । अमेरिकी अधिकारीहरूले अमेरिकी आकाशमा एउटा ठूलो चिनियाँ ‘सर्भिलेन्स बेलुन’ ट्र्याक गरिरहेको बताएपछि बिहीबार विवाद सुरु भएको थियो । घटनापछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले अमेरिका र चीनबीच बढ्दो तनावलाई नियन्त्रण गर्ने भनिएको बेइजिङको दुर्लभ भ्रमण रद्द गरेका छन् ।
बेइजिङले ‘एयरशिप’ को स्वामित्व स्वीकार गरेको छ । तर, यसलाई मौसम अनुसन्धानका लागि छाडिएको बेलुन भन्दै यो घटनाप्रति ‘खेद’ व्यक्त गरेको छ ।
चिनिया विदेश मन्त्रालयले ‘मानवरहित नागरिक हवाई जहाजमाथि आक्रमण गर्न संयुक्त राज्य अमेरिकाले बल प्रयोग गरेकोमा चीनले कडा असन्तोष र विरोध’ व्यक्त गरेको छ ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'संयमित ढङ्गले जवाफ दिनुको साटो संयुक्त राज्य अमेरिकाले बल प्रयोग गर्न जोड दिएको छ ।' विज्ञप्तिमा भनिएको छ, 'चीनले सम्बन्धित उद्यमहरूको वैध अधिकार र हितको दृढतापूर्वक रक्षा गर्नेछ र थप आवश्यक प्रतिक्रिया दिने अधिकार सुरक्षित राख्नेछ ।'
पेन्टागनका अधिकारीहरूले शनिबार पत्रकारहरूलाई बताएअनुसार बेलुन पहिलो पटक जनवरी २८ मा अलास्काको अमेरिकी आकाशमा प्रवेश गरेको थियो । 'यस्तो विमान अमेरिकी भूमिमा उडेको यो पहिलो घटना भने होइन', वरिष्ठ रक्षा अधिकारीले भने, 'यद्यपि अहिले भने सबैभन्दा लामो समय रहेको छ। डोनाल्ड ट्रम्पको कार्यकालमा तीन वटा बेलुन र बाइडन प्रशासनको पालामा एउटा बेलुन देखिएको थियो ।'
बाइडनले बुधबार पत्रकारहरुसँग कुरा गर्दै आफूले जतिसक्दो चाँडो उक्त यानलाई खसाल्न आदेश दिएको बताएका थिए । बाइडेनले भने, 'जमीनमा कसैलाई हानि नपुर्याई त्यो काम गरेकाले यो सबै भन्दा राम्रो समय थियो । उनीहरूले सही निर्णय गरे । बेलुन पानीमा खसालिएको छ ।' रासस
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google