काठमाडौं । इक्वेडरमा राष्ट्रपतीय निर्वाचनका लागि जारी चुनावी अभियानका क्रममा एक उम्मेदवारको गोली हानी हत्या भएको छ । बीबीसीका अनुसार देशको राष्ट्रिय सभाका सदस्य फर्नान्डो भिल्लाभिसेन्सियोलाई उत्तरी सहर क्विटोमा चुनावी कार्यक्रम छाडेर आफ्नो कारमा चढ्ने क्रममा बुधबार आक्रमण भएको हो ।
कारमा बस्नासाथ एक व्यक्तिले भिल्लाभिसेन्सियोको टाउकोमै गोली हानेको चुनावी टोलीका एक सदस्यले स्थानीय मिडियासँग बताएका छन् । यसैबीच राष्ट्रपति गुइलेर्मो लासोले अपराधीलाई कुनै हालतमा पनि नछाडिने प्रतिबद्धता जनाएका छन् ।
प्रत्यक्षदर्शीका अनुसार ५९ वर्षीय भिल्लाभिसेन्सियोलाई तीनपटक गोली लागेको थियो । इक्वेडरका महान्यायाधिवक्ताले सामाजिक सञ्जालमार्फत संदिग्ध पनि सुरक्षाकर्मीहरूको जवाफी फायरिङमा मारिएको दाबी गरेका छन् । इक्वेडरमा पहिलो चरणको राष्ट्रपतीय निर्वाचन यही अगस्ट २० मा सुरु हुँदै छ ।
राष्ट्रपति लासोले घटनाबाट आफू स्तब्ध भएको बताए । उनले मुलुकमा संगठित अपराध धेरै बढेको र त्यसलाई नियन्त्रण गर्ने सम्पूर्ण भार आफैँमाथि पर्नसक्ने बताए । इक्वेडरमा लागूऔषध कार्टेलको बढ्दो उपस्थितिले हिंसात्मक अपराध बढेको छ, जुन यस वर्षको राष्ट्रपति चुनावमा पनि एक केन्द्रीय मुद्दा हो । गत महिना, संगठित अपराधसँग जोडिएका हत्याको श्रृंखलाले राष्ट्रपतिलाई तीन प्रान्तमा आपतकाल र रातको समय कर्फ्यु घोषणा गर्न बाध्य बनाएको थियो ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google