काठमाडौँ । प्रतिनिधिसभाबाट पास भएको संघीय निजामती सेवा विधेयक, २०८० राष्ट्रिय सभामा पेश भएको छ । राष्ट्रियसभाका सचिव सुरेन्द्र अर्यालले ‘सङ्घीय निजामती सेवा विधेयक, २०८०’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गरेका हुन् ।
प्रतिनिधि सभाबाट बहुमतले पारित भएको उक्त विधेयक राष्ट्रिय सभाको आगामी बैठकबाट छलफल र पारित प्रक्रियातर्फ प्रवेश गर्नेछ । तर राष्ट्रिय सभामा टेबुल हुनुअगावै उक्त विधेयकमा विवाद सुरु भइसकेको छ ।
विधेयकमा समावेश गरिएको भनिएको २ वर्षे कुलिङ पिरियडमा ‘बाहेक’ शब्द राखेर छेडखानी गरेको भन्दै चौतर्फी आलोचना भइरहेको छ । सो विषय सच्याउन राज्य व्यवस्था तथा शुसासन समितिका सभापति रामहरि खतिवडाले राष्ट्रिय सभाका अध्यक्षलाई पत्रसमेत लेखिसकेका छन् ।
राष्ट्रिय सभामा टेबुल भएको उक्त विधेयक विधायन समितिमा पठाउने कि सिधै सभामै छलफल गर्ने भन्ने निर्णय हुनेछ । सामान्यतः विवादास्पद वा विस्तृत छलफल आवश्यक हुने विधेयकहरू पुनः समितिमा पठाइन्छन् ।
यदि विधेयक समितिमा पठाइयो भने, दफावार छलफलपछि संशोधित प्रतिवेदन सभामा फर्काइन्छ। सिधै छलफल भए पनि दफावार बहसका आधारमा पारित वा खारेज गर्ने निर्णय लिइन्छ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google