
काठमाडाैं । नेपाली कांग्रेसले संविधान संशोधनसहित देशका महत्त्वपूर्ण मुद्दाको सम्बोधन गर्न कांग्रेस र एमालेको सहमतिमा राष्ट्रिय सहमतिको नयाँ सरकार गठन हुने बताएको छ ।
मंगलबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पार्टी पदाधिकारी बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै प्रवक्ता डा. प्रकाशशरण महतले संविधानसहितका मुद्दालाई केन्द्रित गरेर सरकार निर्माणमा सहभागी भएको बताएका हुन् ।
उनले आम नागरिकका समस्यालाई केन्द्रमा राखेर एमालेसँग सरकार बनाउने सहमति भएको बताए । प्रवक्ता महतले अस्थिरताका कारण आर्थिक स्थिति सुध्रिन र सुशासन सुनिश्चित गर्न अप्ठ्यारो भएकाले पनि दुई ठूला दलहरूको सरकार आवश्यक रहेको बताए । उनले दुई दलबीचमा सरकार निर्माण गर्न अघि बढ्ने र आवश्यकताअनुसार अरु दललाई पनि समेट्ने गरी राष्ट्रिय सहमतिको सरकारको नाम दिइएको बताए ।
सरकारको नेतृत्व नेकपा एमालेका अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले आलोपालो निर्वाचनसम्म नेतृत्व गर्ने आधारमा मोटामोटी समझदारी भएको उनले बताए । समझदारीलाई अन्तिम रूप दिन पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले निर्णय गर्ने उनले बताए ।
प्रवक्ता महतले राष्ट्रपति निवासमा सोमबार राति सभापति देउवा र अध्यक्ष ओली पुगे भन्ने कुरामा कुनै सत्यता नरहेको बताए । उनले संविधानका सवालमा आयोग बन्ने र ड्राफ्ट नै भइसक्यो भन्ने कुरामा कुनै सत्यता नरहेको बताए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google