
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको आकार घटाएको छ। अब बन्ने केन्द्रीय कमिटी १९९ सदस्यीय हुने एकीकृत समाजवादीले जानकारी दिएको छ । सोमबार सकिएको केन्द्रीय परिषद्को दोस्रो बैठकले केन्द्रीय कमिटीको आकार घटाउने निर्णय गरेको हो । एकीकृत समाजवादीको मौजुदा केन्द्रीय कमिटी ३३५ सदस्यीय छ ।
परिषद् बैठकले केन्द्रीय कमिटीमा पदाधिकारीको संख्या १९ रहने निर्णय पनि गरेको छ । त्यस्तै प्रदेश कमिटीको सदस्य संख्या ७५ देखि ९९ सम्म र प्रदेश कमिटी पदाधिकारीहरूको संख्या सात रहने पनि निर्णय गरेको छ । जसमा अध्यक्ष एक, उपाध्यक्ष दुई, सचिव एक र उपसचिव तीन जना रहने व्यवस्था गरिएको छ ।
एक मात्र संघीय निर्वाचन क्षेत्रमा भएका जिल्ला कमिटीहरूको सदस्य संख्या ५५ हुने र एक भन्दा बढी संघीय निर्वाचन क्षेत्र भएका जिल्लाहरूमा प्रत्येक निर्वाचन क्षेत्रबाट एक महिलासहित ती जना थप गर्ने निर्णय गरिएको एकीकृत समाजवादीले जानकारी दिएको छ । त्यस्तै एकीकृत समाजवादीमा कार्यकारिणी कमिटीमा ७० उमेरहद राख्ने विषय पनि बहसमा थियो। परिषद् बैठकले नराख्ने निर्णय गरेको छ ।
समावेशीताको सिद्धान्तअनुसार पार्टीका सबै कमिटीहरू ४० वर्षमुनिका २० प्रतिशत युवा राख्नैपर्ने प्रबन्ध गरेको एकीकृत समाजवादीले जानकारी दिएको छ । त्यस्तै प्रदेशमा आयोगहरू नराख्ने निर्णय एकीकृत समाजवादीले गरेको छ । यसैगरी एकीकृत समाजवादीले महाधिवेशनमा पार्टी अध्यक्ष माधवकुमार नेपालदेखि सबै प्रतिनिधि आ–आफ्नो निर्वाचन क्षेत्रबाट चुनिएर आउनुपर्ने निर्णय गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय परिषद्को दोस्रो बैठक (२०८० माघ १४ र १५ गते) ले पार्टी विधानका सम्बन्धमा गरेका निर्णयहरू
१. महाधिवेशन/अधिवेशनका सबै प्रतिनिधिहरू सम्बन्धित कमिटीले निर्धारण गरेका निर्वाचन क्षेत्रबाट निर्वाचित हुने छन् ।
२. केन्द्रीय कमिटीको सदस्य संख्या १९९ जनाको हुनेछ ।
३. केन्द्रीय कमिटीका पदाधिकारीको संख्या १९ हुनेछ ।
४. केन्द्रीय कमिटी भित्रका संरचनाहरू:
• केन्द्रीय कमिटी
• पोलिटब्युरो
• स्थायी कमिटी
५. केन्द्रीय निकाय:
• राष्ट्रिय महाधिवेशन
• केन्द्रीय कमिटी
• केन्द्रीय अनुशासन आयोग
• केन्द्रीय लेखा परीक्षण आयोग
• केन्द्रीय निर्वाचन आयोग
• केन्द्रीय सल्लाहकार परिषद
• केन्द्रीय जेष्ठ कम्युनिष्ट मञ्च
• केन्द्रीय परिषद्
६. सबै कमिटीका पदाधिकारी तथा सदस्यहरू महाधिवेशन / अधिवेशनहरूबाट प्रत्यक्ष निर्वाचित हुने छन् ।
७. प्रदेश कमिटीको सदस्य संख्या ७५ - ९९ सम्म हुनेछ ।
प्रदेश कमिटी पदाधिकारीहरू - ७
अध्यक्ष - १
उपाध्यक्ष- २
सचिव- १
उपसचिव–३
८. एक मात्र संघीय निर्वाचन क्षेत्रमा भएका जिल्ला कमिटीहरूको सदस्य संख्या ५५ हुने छन् । एक भन्दा बढी संघीय निर्वाचन क्षेत्र भएका जिल्लाहरूमा प्रत्येक निर्वाचन क्षेत्रबाट १ महिलासहित ३ जना थप गर्ने ।
जिल्ला कमिटीका पदाधिकारीहरू - ७
• अध्यक्ष - १
• उपाध्यक्ष- २
• सचिव - १
• उपसचिव-३
९. पालिका कमिटीको सदस्य संख्या ४५ कायम गरी पाँच भन्दा बढी वडा भएका पालिकाको हकमा प्रत्येक वडा बाट २ जना थप गर्ने ।
स्थानीय कमिटीका पदाधिकारीहरू - ५
• अध्यक्ष - १
• उपाध्यक्ष-१
• सचिव - १
• उपसचिव - २
१०. वडा कमिटीको सदस्य संख्या बढीमा ३५ हुनेछ ।
११. उमेर हद नराख्ने ।
१२. पार्टीका सबै कमिटीहरूमा समावेशीताको सिद्धान्त अनुसार युवाहरूको प्रतिनिधित्व २० प्रतिशत रहनेछ। साथै, सबै कमिटीहरू समावेशी हुनेछन् ।
१३. प्रदेशमा आयोगहरू नराख्ने ।
नोटः महाधिवेशन/अधिवेशनका प्रतिनिधिहरू चयन गर्ने सम्बन्धित व्यवस्था र मातहका कमिटीका सम्बन्धमा गरेको व्यवस्था सम्बन्धित कमिटीका अधिवेशनदेखी लागु हुनेछन् । बाँकी व्यवस्था महाधिवेशनबाट अनुमोदन भए पश्चात लागुहुनेछन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google