सञ्चारमन्त्री गुरुङलाई बर्खास्त गर्न शंकर भण्डारीको माग

दर्पण दैनिक १८ भाद्र २०८१,०९:४८
post

काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संघीय सांसद शंकर भण्डारीले संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई बर्खास्त गर्न प्रधानमन्त्रीसँग माग गरेका छन् । नेता भण्डारी प्रेस विज्ञप्ति जारी गर्दै एमाले नेतासमेत रहेका मन्त्री गुरुङलाई पदबाट बर्खास्त गर्न माग गरेका हुन् ।  केही दिनअघि पोखरामा आयोजित एक कार्यक्रममा मन्त्री गुरुङले प्रहरी समायोजनमा असहयोग गरेको भन्दै ‘आइजीपी वसन्त कुँवरको जिब्रो थुत्नुपर्ने’ अभिव्यक्ति दिएका थिए । 

‘देशको शान्ति सुरक्षा कायम गर्ने जिम्मा लिएको प्रहरी संगठनका प्रमुखलाई सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्रीबाट सार्वजनिक स्थलमा अपशब्द व्यक्त गरेकोमा त्यसको घोर भत्र्सना गर्दै प्रधानमन्त्रीले मन्त्री गुरुङलाई बर्खास्त गर्न आह्वान गर्दछु,’ भण्डारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो अभिव्यक्तिको कारण शान्ति सुरक्षामा भविष्यमा कुनै तलमाथि हुन आएमा त्यसको जिम्मेवारी स्वयं सरकार र प्रधानमन्त्री हुने कुरा व्यक्त गर्न चाहन्छु ।’ 


भण्डारीले सरकारमा भएका वा जिम्मेवार व्यक्तिले सत्य तथ्य बंग्याएर समाजमा वितृष्णा फैलाउने र पार्टी पार्टीबीच सम्बन्ध बिगार्ने कार्य नगर्न पनि अनुरोध गरेका छन् ।  सञ्चारमन्त्री गुरुङको अभिव्यक्ति विवादित बनेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि गुरुङलाई सार्वजनिक रुपमा बोल्दा विचार पुर्‍याउन निर्देशन दिएका थिए । 


मन्त्री गुरुङलाई प्रधानमन्त्रीले बोल्दा भाषा प्रयोगमा ख्याल गर्न निर्देशन दिएका हुन्। विवादित अभिव्यक्ति दिएका मन्त्री गुरुङले पनि प्रधानमन्त्रीको निर्देशनलाई आफूले पालना गर्ने बताएका छन् । ‘मैले सन्दर्भवस् बोलेको कुराले अहिले तरंग पैदा गरेको छ । यस विषयमा प्रधानमन्त्रीले पनि चासो राख्नुभयो,’ सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा गुरुङले भनेका थिए, ‘मैले उहाँलाई सबै सन्दर्भ बताएँ । उहाँले तपाईं सरकारको प्रवक्ता हुनुहुन्छ। बोल्दाखेरी विवादमा आउनेखालको भाषा प्रयोग नगर्नूस् । हरेक कुरामा लामो लामो बोल्ने बानी छ, छोटो बोल्ने गर्नूस् भन्नुभयो। मैले त्यसलाई स्वीकार गरेँ ।’

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: