
ललितपुर । ‘सीता जयन्ती’को अवसरमा विभिन्न क्षेत्रमा सक्रिय व्यक्तिलाई सम्मान गरिएको छ । मिथिला संस्कृति समाजले राष्ट्रिय नाचघर जमलस्थित आयोजना गरेको सीता प्राकट्य दिवस समारोहमा विभिन्न क्षेत्रमा सक्रिय व्यक्तिलाई सम्मान गरिएको हो ।
यस वर्ष राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशक डा. रुना झा, मैथिली ‘अर्चनाकृत रामायण’की लेखिका एवं पत्रकार अर्चना झा, मिथिला नृत्य कला परिषदकी रिना रिमाल, कलाकार महेश कुमार, समाजसेवी कृष्णकुमारी शाह लगायतलाई सम्मान गरिएको मिथिला सांस्कृतिक समाजको अध्यक्ष वीरेन्द्र ठाकुरले जानकारी दिए।
कार्यक्रममा सीतारामको गुणगान, देशमा महिलाको अवस्था, नित्य, भजन कीर्तन, मिथिला क्षेत्र र जनकपुरको सांस्कृतिक पक्षबारेमा चर्चा गरिएको उहाँले बताए ।
कार्यक्रमका प्रमुख अतिथि माइती नेपालकी संस्थापक अनुरोधा कोइराला, विशिष्ट अतिथि राष्ट्रिय महिला आयोगकी सदस्य विद्याकुमारी सिन्हा, मधेसी आयोगकी सदस्य रेणुदेवी शाह र सभा अध्यक्ष वीरेन्द्र ठाकुरले सम्मानपत्र हस्तान्तरण गरे ।
सो अवसरमा माइती नेपालकी संस्थापक कोइरालाले नेपालमा खासगरी रात्रिकालिन मनोरञ्जन क्षेत्र, स्पाम, होटल आदिमा १२ देखि २० वर्षसम्मका बालिकाको शारीरिक एवं मानसिक बेचबिखन भइरहेको बताइन् । विदेशमा बेचबिखन त हुँदै छ, देशभित्रै बढी छोरीहरू बेचिएका छन् र देशमा न्याय खोज्नलाई टर्च बालेर खोज्नुपर्ने स्थिति भएको कोइरालाले बताइन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google