गाेरखा । गोरखा नगरपालिका–९ ठिँगुरेस्वाँरामा शनिबार टिपर र मोटरसाइकल एकापसमा ठोक्किँदा एक नेपाली सैनिकको मृत्यु भएको छ । दुर्घटनामा रिपुमर्दन गण गोरखामा कार्यरत इलाम जिल्ला देउमाई गाउँपालिका–२ का लेसनायक २५ वर्षीय सुरेन्द्र राईको मृत्यु भएको हाे । उक्त दुर्घटनामा अर्का एक व्यक्ति गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए । दुर्घटनामा गम्भीर घाइते भएका उनको गोरखा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
गोरखा बजारबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ग १ क ५६५४ नम्बरको टिपर र विपरीत दिशातर्फबाट आइरहेको बा ७० प २८७१ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा सोही गणमा कार्यरत नेपाली सेनाका लेसनायक सङ्खुवासभा नगरपालिका–३ खपाङका २४ वर्षीय जनम राई गम्भीर घाइते भएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए ।
उनलाई उपचारका लागि काठमाडौं लगिएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । - रासस
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google