काठमाडौँ । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले हरेक नेपालीको जीवन र जीविकोपार्जन सहज बनाउन सरकार अघि बढिरहेको बताएका छन् । सोनाम ल्होसारका अवसरमा शंकरापुर नगरपालिका वडा नं ४ मा सोमबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै सिंहले उक्त कुरा बताएका हुन्।
राजनीति स्थिर नभए अर्थतन्त्र चलायमान नहुने र विकास निर्माणको काम पनि हुन नसक्ने आवश्यकता बोध गरेरै नेपाली कांग्रेस र नेकपा एमालेसहितका दलहरू मिलेर सरकार बनेको पनि उहाँले प्रस्ट पारे ।
उनले भने, ‘वर्तमान सरकार राजनीतिक स्थायित्वका लागि बनेको हो। अर्थतन्त्र चलायमान बनाउन स्थिरता नभइनहुने हाम्रो अनुभवबाटै अनुभूत गरेका छौँ। राजनीतिक स्थायित्वको जगमा हरेक नेपालीको जीवन र जीविकोपार्जन सहज बनाउन सरकार अघि बढिरहेको छ ।’
उपप्रधानमन्त्री सिंहले चुनावमा भिन्न दलको फरक एजेन्डा भए पनि परिणाम आइसकेपछि विकास निर्माणका काममा सबै राजनीतिक दल, समुदाय, जनप्रतिनिधि मिल्नुपर्ने बताए । उपप्रधानमन्त्री सिंहले अधिकारको माग गर्नु जनताको अधिकार भन्दै अधिकारसँगै जिम्मेवारीबोध गर्नुपर्नेमा पनि जोड दिए ।
धेरै लामो संघर्ष गरेर समावेशी संविधान प्राप्त भएको भन्दै उनले प्राप्त उपलब्धि सुरक्षित गर्न राजनीतिक स्थिरता हुनुपर्ने बताए । उपप्रधानमन्त्री सिंहले चाडपर्वहरू परम्पराको जगेर्ना गर्न, आपसी सद्भाव बढाउन र खुशी साटासाट गर्न महत्त्वपूर्ण हुने भन्दै ल्होसारको शुभकामना व्यक्त गरे ।
कार्यक्रममा पूर्वमन्त्री, नेपाली कांग्रेस काभ्रेका सभापति तथा बागमती प्रदेस सभा सदस्य तीर्थ लामाले ल्होछारले एकताको सन्देश दिने बताए । उनले भने, ‘हाम्रा संस्कृति तथा पर्वहरुको संरक्षण गर्नु जरुरी छ । छरिएर रहेका आम दाजुभाइ दिदी बहिनीहरुलाई एक ठाउँमा ल्याउने वा एकतामा बाध्ने काम काम ल्होछारले गरेको छ ।’ साथै लामाले तामाङ समुदायको बिशेष चाड तथा राष्ट्रिय पर्व मञ्जुश्री सम्बत २८६१ औं डुल (सा पुख्री) ल्हो को सोनाम ल्होछारको अवसरमा शुभकामना व्यक्त गरे ।
शुभकामना आदानप्रदान तथा बृहत् सांस्कृतिक कार्यक्रममा लोकप्रिय तथा ख्यातिप्राप्त कलाकार र स्थानीय कलाकारहरुको विशेष प्रस्तुती रहेको थियो ।
कार्यक्रमका मुल समारोह समितिका संयोजक तथा आयोजक वडा शंकरापुर ४ का वडाध्यक्ष सुना बहादुर तामाङले सम्पुर्णमा शुभकामना व्यक्त गरे ।
कार्यक्रममा लामा गुरु, झाँक्री, विभिन्न संघ संस्थाका अगुवा तथा प्रतिनिधिहरु, जनप्रतिनिधिहरु, विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरु तथा स्थानीयको उल्लेखनीय उपस्थिति रहेको थियो ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google