कार्यभार सम्हालेपछि अर्थतन्त्र चलायमान भएको अर्थमन्त्री महतकाे दाबी (पूर्णपाठसहित)

दर्पण दैनिक २७ मंसिर २०८०,१४:२१
post

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आफूले कार्यभार सम्हालेपछि अर्थतन्त्र चलायमान भएको दाबी गरेका छन्‌ । अर्थ मन्त्रालयमा आज (बुधबार) पत्रकार सम्मेलन आयोजना गर्दै महतले सरकार र विभागीय मन्त्रीका हैसियतमा आफू आर्थिक गतिविधि बढाउन सफल रहेको दाबी गरेका हुन्‌ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद्‌ विस्तार गर्दै गत चैत १४ गते डा. महतलाई अर्थमन्त्री नियुक्त गरेका थिए । अर्थमन्त्री नियुक्त भएयता ९ महिनामा मुलुकमा आर्थिक शिथिलता थप गहिरिँदा अर्थमन्त्री महतले भने सरकार र आफू अर्थतन्त्र चलायमान गराउन सफल भएको फेहरिस्त उल्लेख गरेका छन्‌ ।

आफूले कार्यभार सम्हाल्दा अर्थतन्त्रका अधिकांश परिसूचक अनुकूल अवस्थामा नभएको अर्थमन्त्रीले उल्लेख गरेका छन्‌ । तत्कालीन सरकारले कोभिडको समयमा लिएको खुकुलो मौद्रिक तथा वित्त नीतिका कारण घरजग्गा, शेयर र वस्तु आयाततर्फ उच्च कर्जा प्रवाह भएकोमा विदेशी विनियम संचितिमा परेको चापलाई समाधान गर्न भनी लिएको नियन्त्रणकारी मौद्रिक नीतिले गर्दा कर्जा प्रवाह विस्तार हुन नसकेको पनि उनको तर्क छ ।

‘यी नीतिका कारण ब्याजदर बढ्न गएको, उपभोग प्रभावित हुँदा र केही वस्तुको आयात प्रतिबन्धका कारण आयात घट्न गएकोले राजस्व संकलन कमजोर भई सार्वजनिक वित्त सन्तुलनमा चाप परेको थियो,’ अर्थमन्त्रीले लेखेका छन्‌, ‘घर जग्गा र शेयर कारोबारमा ठूलो गिरावट आएको थियो । अर्कोतर्फ सार्वजनिक खर्चतर्फ आयोजनाको प्राथमिकिकरणको अभाव र संभावित दायित्वको आंकलन नगरी खरिद प्रक्रिया अगाडि बढाउँदा खर्च व्यवस्थापन चुनौतीपूर्ण अवस्थामा रहेको थियो । ’

आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत घोषणा गरेको आर्थिक सुधार र बजेट प्रणाली सुधारका विषयहरू अहिले क्रमशः कार्यान्वयनका क्रममा रहेको अर्थमन्त्रीको दाबी छ ।

 

सरकारको चालु खर्चलाई गत वर्षको हाराहारीमा सीमित गरिएको, यस अवधिमा पुँजीगत खर्चतर्फ करिब ६.० प्रतिशत वृद्धिदर रहेको, भन्सार महसुलतर्फ करिब १३ प्रतिशत, मूल्य अभिवृद्धि करतर्फ करिब ७.१९ प्रतिशत, आयकरतर्फ करिब १२ प्रतिशत र समग्र कर राजस्वतर्फ ७.५७ प्रतिशत वृद्धिदर कायम रहेको तथ्यांक अर्थमन्त्रीले उल्लेख गरेका छन्‌ ।

यसैगरी मौद्रिक नीतिमार्फत नीतिगत दर ६.५ प्रतिशतबाट घटाएर ५.५ प्रतिशत, बैंक दरलाई ७.५ प्रतिशतबाट ७ प्रतिशत र निक्षेप संकलनको बोलकबोल दर ४.५ प्रतिशतबाट ३.० प्रतिशत कामय गरिएको विषयलाई पनि उनले सफलताका रूपमा प्रचार गर्न खोजेका छन्‌ ।

२०७९ चैत्र महिनामा बाणिज्य बैंकहरूको औषत आधार दर १०.४८ प्रतिशत रहेको २०८० असोज मसान्तमा ९.९४ प्रतिशत रहेको  तथ्यांक अघि सार्दै अर्थमन्त्री महतले २०७९/८० को पहिलो चार महिनामा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जा रु ६८.५५ अर्ब रहेकोमा यस वर्ष यस अवधिमा रु १३० अर्ब पुगेको पनि उल्लेख गरेका छन्‌ ।


यस्तो छ अर्थमन्त्रीको दाबी : 

अर्थतन्त्रको वर्तमान अवस्था र आगामी कार्यदिशा

१. कार्यभार सम्हाल्दाको अवस्था

मैले अर्थमन्त्रीको कार्यभार सम्हाल्दा अर्थतन्त्रका अधिकांश परिसूचक अनुकूल अवस्थामा थिएनन । कोभिडको समयमा लिइएको खुकुलो मौद्रिक तथा वित्त नीतिका कारण घरजग्गा, शेयर र वस्तु आयाततर्फ उच्च कर्जा प्रवाह भएकोमा विदेशी विनियम संचितिमा परेको चापलाई समाधान गर्न भनी लिइएको नियन्त्रणकारी मौद्रिक नीतिले गर्दा कर्जा प्रवाह विस्तार हुन नसकेको, ब्याजदर बढ्न गएको, उपभोग प्रभावित हुँदा र केही वस्तुको आयात प्रतिबन्धका कारण आयात घट्न गएकोले राजस्व संकलन कमजोर भई सार्वजनिक वित्त सन्तुलनमा चाप परेको थियो भने घर जग्गा र शेयर कारोबारमा ठूलो गिरावट आएको थियो । अर्कोतर्फ सार्वजनिक खर्चतर्फ आयोजनाको प्राथमिकिकरणको अभाव र संभावित दायित्वको आंकलन नगरी खरिद प्रक्रिया अगाडि बढाउँदा खर्च व्यवस्थापन चुनौतीपूर्ण अवस्थामा रहेको थियो । कतिपय वाह्य परिस्थितिका कारण पनि अर्थतन्त्रमा सिथिलता आउनुमा थप योगदान पुगेको थियो ।

२. बजेटमा प्रस्तावित सुधार र कार्यान्वयनको स्थिति

मैले आर्थिक वर्ष २०८०/८१ को बजेट मार्फत घोषणा गरेको आर्थिक सुधार र बजेट प्रणाली सुधारका विषयहरू अहिले क्रमशः कार्यान्वयनका क्रममा रहेका छन । सरकारी खर्चतर्फ वित्त अनुशासनलाई जोड दिइएको छ । स्रोतको उपलब्धताका आधारमा बहुवर्षिय ठेक्कामा सहमती दिने गरी नयाँ मापदण्ड जारी गरिएको छ जसमा चालु आर्थिक वर्षको विनियोजनको ४ गुणासम्म मात्र सहमती दिन सकिने व्यवस्था गरिएको छ । यस व्यवस्थाले आयोजनाको प्राथमिकिकरण हुनुका साथै भविष्यमा सिर्जना हुन सक्ने दायित्व व्यवस्थापन सहज हुन जान्छ । त्यसै गरी आयोजनाको महत्वका आधारमा बजेट विनियोजन गर्ने प्रणाली बसालिएको छ ।

अन्तर्राष्ट्रिय विकास सहायता सम्बन्धी नयाँ नीतिको तर्जुमा शुरु गरिएको छ । जुनसुकै परियोजनामा अनावश्यक ऋण सहायता लिने प्रवृत्तिको सट्टा आवश्यकता र औचित्यका आधारमा मात्र ऋण परिचालन गर्न शुरु गरिएको छ । जलवायु परिवर्तनका कारण मुलुकलाई पर्न गएको असरको क्षतिपूर्ति स्वरुप अनुदान र सहुलियतपूर्ण ऋण सहायता परिचालनमा जोड दिने नीति लिइएको छ । विभिन्न अन्तर्राष्ट्रिय फोरमहरूमा जलवायु परिवर्तनसँग सम्बन्धित अन्तर्राष्ट्रिय दातृ निकाय तथा कोषबाट अनुदान र सहुलियतपूर्ण ऋण सहायता परिचालन हुनुपर्ने विषयमा स्पष्ट धारणा राखिएको र यसमा विकास साझेदारहरू सहमत भएकोले आगामी दिनमा यसको नतिजा आउने स्थिति बनेको छ ।

त्यसै गरी, राजस्व परिचानलमा क्रमश: सुधार भएको छ । बजेट मार्फत गरिएका नीतिगत परिवर्तन, नयाँ कराधार विस्तार र दरमा गरिएको औचित्यपूर्ण परिवर्तन र राजस्व चुहावट नियन्त्रण गर्न गरिएका प्रयासले परिणाम देखिन थालेको छ । कर प्रणालीमा सुधारका लागि उच्चस्तरीय समिति गठन भई समितिले काम गरिरहेको छ ।

त्यसैगरी अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंक बिचको उच्च स्तरको निरन्तर छलफल र समन्वयबाट मौद्रिक नीतिलाई क्रमश: खुकुलो बनाउँदै लगिएको छ । हालै भएको मौद्रिक नीतिको चौमासिक समीक्षाबाट मौद्रिक नीतिमा महत्वपूर्ण परिवर्तन भएको छ । सार्वजनिक संस्थान सुधारका लागि निजिकरण समितिलाई क्रियाशिल बनाई काम अगाडि बढाइएको छ ।

सम्मानीय प्रधानमन्त्री तथा मेरो उपस्थितिमा निजी क्षेत्र, अर्थविद र सरोकारवालासँग पटक पटक अन्तर्क्रिया गरी प्राप्त सुझावका आधारमा आर्थिक सुधारका विषयलाई अगाडि बढाइएको छ ।

३. वर्तमान आर्थिक अवस्था र परिणामहरू

माथी उल्लेख गरिएका सुधारका प्रयासले आर्थिक क्रियाकलापहरू क्रमश: चलायमान भएका छन । यस अवधिमा पुँजीगत खर्चतर्फ करिब ६.० प्रतिशत वृद्धिदर रहेको छ । त्यसैगरी भन्सार महसुलतर्फ करिब १३ प्रतिशत, मूल्य अभिवृद्धि करतर्फ करिब ७ । १९ प्रतिशत, आयकरतर्फ करिब १२ प्रतिशत र समग्र कर राजस्वतर्फ ७.५७ प्रतिशत वृद्धिदर कायम रहेको छ ।

वित्तीय क्षेत्रतर्फ मौद्रिक नीति मार्फत नीतिगत दर ६.५ प्रतिशतबाट घटाएर ५.५ प्रतिशत, बैंक दरलाई ७.५ प्रतिशतबाट ७ प्रतिशत र निक्षेप संकलनको बोलकबोल दर ४.५ प्रतिशतबाट ३.० प्रतिशत कामय गरिएको छ । जसबाट ब्याजदर क्रमशः घट्दै गएको छ ।

हाल अन्तर बैंक दर २.५ प्रतिशतको हाराहारीमा रहेको छ । २०७९ चैत्र महिनामा बाणिज्य बैंकहरूको औषत आधार दर १० । ४८ प्रतिशत रहेको २०८० असोज मसान्तमा बाणिज्य बैंकहरूको औषत आधार दर ९.९४ प्रतिशत रहेको छ । २०७९/८० को पहिलो चार महिनामा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जा रु ६८.५५ अर्ब रहेकोमा यस वर्ष यस अवधिमा रु १३० अर्ब पुगेको छ । निक्षेपतर्फ २०७९/८० को पहिलो चार महिनामा रु ४६.७४ अर्ब रहेकोमा यस वर्ष सोही अवधिमा रु २४४ अर्ब पुगेको छ । मौद्रिक नीतिमा हालै गरिएको परिवर्तनले बैंक तथा वित्तीय क्षेत्रमा परेको सकारात्मक प्रभाव क्रमश: आर्थिक क्रियाकलापमा प्रतिबिम्वित हुँदैछ ।

घरजग्गा र शेयर कारोबार बढ्न शुरु भएको छ । हालै शेयर बजारमा आएको उत्साहले सकारात्मक संकेत गरेको छ । त्यसै गरी २०८० चैत्र सम्म समस्यामा परेका ऋणीहरूलाई कर्जाको पुनर्संरचना गर्ने अवधि दिइएको छ । साथै हाल घट्दो ब्याजदरले विविध कारणले बैंक ऋण तिर्न नसकेका व्यवसायीलाई राहत दिनेछ । सम्झौता बमोजिम काम सम्पन्न भई अर्थ मन्त्रालयमा प्राप्त निर्माण व्यवसायीलाई भुक्तानी दिन बाँकी रकमको अधिकांश दायित्व व्यवस्थापन गरिसकिएको छ ।

अर्थतन्त्रको वाह्य क्षेत्रका परिसूचकहरू अनुकूल बनेका छन । २०८० असोज मसान्तसम्म चालु खाता रु ५९ अर्ब ले बचतमा रहेको, रु ९९ अर्बले सोधनान्तर बचतमा रहेको र १२ अर्ब ३३ करोड अमेरिकी डलर विदेशी विनिमय संचिति रहेको छ । विप्रेषणको आप्रवाह २०८० असोजमसम्ममा ३० प्रतिशले बढेकोले वाह्य क्षेत्र सन्तुलनको अवस्था राम्रो रहेको छ ।

चालु आर्थिक वर्षमा पर्यटक आगमनमा उत्साहजनक वृद्धि भई २०२३ को हालसम्म ९ लाख ५४ हजार पर्यटक आगमन भएको छ जुन अहिले सम्मकै उच्च हो । चालु आर्थिक वर्षमा करिब ९०० मेगावाट जलविद्युत राष्ट्रिय प्रशारणमा जोडिने क्रममा रहेको छ ।

४. आगामी कार्यदिशा

सरकारले शुरु गरेका आर्थिक र बजेट प्रणाली सुधारका कार्यक्रमलाई अझ विस्तार गरिनेछ । अल्पकालमा सरकार र निजी क्षेत्र बिच उच्च स्तरको समन्वय कायम गरी हाल अर्थतन्त्रमा देखिएको सकारात्मक अवस्थालाई उपभोग र लगानीमा प्रतिबिम्बित गराउने, सरकारको खर्चमा मितव्ययिता कायम गर्दै सरकारी लगानीमा विद्यमान अवरोधहरू फुकाउने, मुलुकको पश्चिम क्षेत्रमा आएको भूकम्पबाट प्रभावितहरूलाई तत्काल राहत र अस्थायी आवासको व्यवस्था गरी ध्वस्त संरचनाको छिटो पुनर्संरचना गर्ने र युवाहरूलाई स्वदेशमा नै रोजगारीका अवसर सिर्जना गर्दै अपेक्षित आर्थिक वृद्धिदर हासिल गर्न जोड दिइनेछ ।

आगामी वैशाख ९ र १० गते सरकारले लगानी सम्मेलनको घोषणा गरी त्यसको तयारी शुरु गरेको छ । लगानी सम्मेलन अघि नै लगानी सँग सम्बन्धित कतिपय नीतिगत र कानुनी सुधार अगाडि बढाइनेछ । लगानी सम्मेलनमा तुलनात्मक लाभका र आयात प्रतिस्थापन गर्न सकिने क्षेत्रमा संभावित लगानीकर्ताहरूको उपस्थितिमा सार्थक लगानी सम्मेलन गर्न सरकार लागि परेको छ ।

दीर्घकालमा आर्थिक सुधार सँग जोडिएका नीति र कानुनको तर्जुमा र कार्यान्वयन गर्दै लगानीको अनुकूल वातावरण सिर्जना गरिनेछ । जलविद्युतको विकास, पर्यटन, कृषिको व्यवसायीकरण, सूचना प्रविधि क्षेत्रको प्रचुर संभावनालाई ध्यानमा राखी स्वदेशी र विदेशी लगानी आकर्षित गर्ने नीति सरकारले लिनेछ ।

समग्रमा मुलुकको अर्थतन्त्रले सही बाटो समाएको छ । थप आर्थिक सुधारका साथ आगामी बजेट तर्जुमाको गृहकार्य शुरु भइसकेको छ । सबै सुधारका प्रयासले नतिजा दिन केहि समय लाग्नेछ । मिडिया जगतबाट समेत अर्थतन्त्रमा देखिएका सकारात्मक संकेतहरूको यथार्थ सुचना प्रवाहमा मद्दत पुग्नेछ भन्ने विश्वास लिएको छु । यसले अर्थतन्त्रमा थप आत्म विश्वास कायम गर्नेछ ।

डा. प्रकाशशरण महत
अर्थमन्त्री
२०८० मंसिर २७ गते

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

यी हुन् कर बढेका क्षेत्र

१५ जेष्ठ २०८१,१७:३७
post

बढ्यो अण्डाको मूल्य

३१ असार २०८१,१४:५९
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५
post

साहस ऊर्जाको अध्यक्षमा पाठक

११ कार्तिक २०८१,१५:४२
post

बढ्याे पेट्रोलको मूल्य

१५ मंसिर २०८१,२०:५७
post

अण्डाको मूल्य बढ्यो

२१ मंसिर २०८१,२०:४८
post

नबिल बैंक सम्मानित

२९ चैत्र २०८१,०७:४८
post

अण्डाको मूल्य बढ्याे

१४ बैशाख २०८२,१३:२१
post

अण्डाको भाउ बढ्यो

१८ जेष्ठ २०८२,०९:१०
post

१६०० ले बढ्याे सुनको मूल्य

३० जेष्ठ २०८२,११:५०

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: